काठमाण्डौ । आइएमई पे अब नेपाल क्लियरिङ हाउसमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा सहभागी हुने भएको छ।

विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सोसम्बन्धी सम्झौता सम्पन्न भएको हो। 

सम्झौतापछि बैंक एवं डिजिटल भुक्तानी सेवा प्रदायकहरुलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्सफर गर्न सहज हुने आइएमई पेले जनाएको छ। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।  

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुका मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ।