काठमाण्डौ । आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शुल्क आइएमई पेमार्फत भुक्तानी गर्न सक्नेछन्।

सम्झौतापत्रमा आइएमई पेका तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफका तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। ४० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

मेटलाइफको सहायक कम्पनीका रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाका रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको छ। नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ।