काठमाण्डौ । थोरै पूँजी भएकै कारण धितोपत्रको कारोबारको सुविधा नपाएका साना लगानीकर्ताहरुले पनि आइतबारदेखि कारोबार गर्न पाउने भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि १० कित्ता भन्दा कम सेयर पनि किनबेच गर्न पाउने व्यवस्था लागूू गर्ने भएको हो । 

दोश्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै १० कित्ता भन्दा कम(अड लट)को धितोपत्र किनबेच हुनसक्ने व्यवस्था गरिएको नेप्सले विज्ञप्तिमार्फत जनाएको छ । 

यस्तो कारोबारले बजारको मूल्य सीमा तथा  परिसूचकमा कुनै असर नगर्ने व्यवस्था समेत गरिएको विज्ञप्तिमा उल्लेख छ । 

''यसअघि नियमित कारोबार समय All or Non(AON) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने संख्या(ब्रोड लट)का धितोपत्र कारोबार हुँदै आएको थियो ।'' नेप्सेको विज्ञप्तिमा भनिएको छ-''अन्य किसिमको अर्डरमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा अर्डर क्यान्सिल हुने समस्या थियो । नयाँ व्यवस्थापछि सो समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरिएको छ ।''