काठमाण्डौ । धितोपत्र बोर्डले सार्वजनिक निश्कासनहरुमा दरखास्त दिंदा फारमको साथमा नागरिकताको प्रतिलिपि र फोटो पेश गर्नुपर्ने झञ्झटिलो व्यवस्था हटाएको छ । 

बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै हालसम्म आइपीओ निश्कासनमा दरखास्तवालाहरुले दरखास्त फारमको साथमा नागरिकताको प्रतिलिपि र फोटो पेश गर्नुपर्ने व्यवस्थालाई उल्टाउँदै पेश नगर्नुपर्ने व्यवस्था लागूू गरेको हो । 

बोर्डले २०७३ माघदेखि नेपालभरि  डिम्याट खाता अनिवार्य रुपमा दरखास्त फारममा उल्लेख गर्नुपर्ने र सो डिम्याट खाता खोल्दा अनिवार्य रुपमा नागरिकताको प्रतिलिपि तथा फोटो पेश गर्नुपर्ने व्यवस्था गरेको थियो । 

यस्ता डिम्याट खाताबाट आवेदकको सम्पूर्ण विवरण रुजु गर्न सकिने र २०७३ माघदेखि लागू भएको आस्वा प्रणालीमा समेत अनिवार्य रुपमा डिम्याट खाता उल्लेख गर्नुपर्ने प्रावधान छ । आस्वा प्रणालीमा पनि नागरिकताको प्रतिलिपि तथा फोटो पेश गर्नु नपर्ने व्यवस्था रहेको उल्लेख गर्दै बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनमा दरखास्त दिने प्रक्रियालाई थप सहज गरी लगानीकर्ताहरुलाई सुविधा दिने उद्देश्यले दरखास्त फारमसाथ नागरिकताको प्रतिलिपि तथा फोटो समावेश गर्नु नपर्ने व्यवस्था गरिएको प्रष्ट पारेको छ । उसले यही व्यवस्था अनुसार कार्य गर्न सम्पूर्ण निष्काशन तथा बिक्री प्रवन्धकलाई परिपत्र समेत गरेको बताएको छ । 

तर, यो व्यवस्था उद्योग वा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले दरखास्त दिने हकमा भने लागू हुनेछैन ।