काठमाण्डौ । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले व्यापारी र उद्योगपतिले बैंकदेखि बीमा कम्पनीसम्म कब्जा गरेका र अहिले तिनै समूह आइपीओमार्फत जनता लुट्न अघि बढेका दाबी गरेका छन् । 

सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको सुरुवाती मस्यौदाको क्रममा स्व. डा. हरिहरदेव पन्त र आफूसहितले अनुसन्धान गरी प्रारम्भिक मस्यौदा पेश गरेको र सो क्रममा आइएमएफ(अन्तराष्ट्रिय मुद्रा कोष) ले समेत व्यापारी र उद्योगपतिहरु बैंकको संस्थापक लगानीकर्ता वा सञ्चालक हुन नपाउने भन्ने राय दिएको स्मरण गरेका छन् । 

'तर आज ती सबै समूहको घेराभित्र सबै बैंक, जीबन बीमा र निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनी देखिन्छ ।' उनले लेखेका छन्-'अब त्यो समूह आईपीओमार्फत जनता लुट्न अघि बढेको छ–नियमन निकाय भएको बैंक, बीमामा आफ्नो सिफारिस बमोजिम नियुक्ति गराएर आर्थिक अवस्था यहाँ पुर्याएपछि ।' 

उनले तथाकथित नियमन निकाय समेत नभएको पब्लिक कम्पनीमार्फत उनीहरु आफ्नो निजी कम्पनीको सेयर जनतालाई बेचेर थप टाट गर्ने क्रममा रहेका समेत बताएका छन् । 

उनले सरकारले चाहेमा आफूले यस विषयमा निःशुल्क कानूनी राय दिन तयार रहेको र यो लूट कसरी रोक्ने भन्ने विषयमा समेत सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

निश्चित स्वार्थ समूहले अण्डरराइटिङ गर्नेदेखि रेटिङ गर्ने कम्पनी सबै आफ्नो राखेर जनता लुटिरहेको समेत उनले उल्लेख गरेका छन् । धितोपत्र स्वीकृति दिने निकायमा समेत तिनै समूहले सेटिङमा मान्छे पठाएका उनको आशय छ । अगाडि भनेका छन्–‘देशको आर्थिक भविष्यमा संकटपूर्ण छ।’ 

उनले ‘मिसन ८४’ भन्दै उफ्रिरहेका रवि लामिछाने लगायतलाई पनि यसतर्फ ध्यान दिन आह्वान गरेका छन् । ‘मिसन ८४ वालाहरु पनि बुझ, ८४ सम्म रहे न मिसन, नरहे केको मिसन ?’–उनले लेखेका छन् ।