काठमाण्डौ । यही पुस २४ गतेबाट चन्द्रागिरि हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि रु. १५ करोड ३४ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्दैछ।

यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि पहिलो चरणमा ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गरिसकेको छ। पहिलो चरणको आईपीओमा मागभन्दा ५.५२ गुणा बढी खरिद आवेदन परेको थियो।

यो हिसाबले यस कम्पनीको आईपीओमा निकै आकर्षण रहेको प्रस्ट हुन्छ। अधिकांश लगानीकर्ताले कम्पनीको वित्तीय सूचकलाई ध्यानमा राखेर लगानी गर्छन्।

त्यही कारणले यो कम्पनीको वित्तीय सूचक कस्तो छ भन्ने कुरा बुझ्न आवश्यक छ। यसको वर्तमान अवस्था र भविष्यको प्रक्षेपण कस्तो छ त ? हेरौँ।
कम्पनीले अबको ३ वर्षमा खुद नाफा ५० करोड ३७  लाख रुपैयाँको उचाइमा पुर्याउने प्रक्षेपण गरेको छ। जसअनुसार यो प्रक्षेपित नाफा आर्थिक वर्ष २०७९/८० लागि हो । 

चालु आर्थिक वर्ष २०७७/७८ मा ६ करोड १३ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएकोमा आउँदो वर्ष २०७८/७९ मा भने यस्तो नाफा बढेर ३६ करोड ११ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

कम्पनीले सञ्चालन मुनाफा पनि आर्थिक वर्ष २०७९/८० मा ८२ करोड १७ लाख रुपैयाँको उचाइमा पुग्ने अनुमान गरेको छ । 

चालु आर्थिक वर्षमा २८ करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा हुने अनुमान गरिएकोमा आउँदो वर्ष भने बढेर ६० करोड ७४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

चालु वर्ष १४ करोड ५७ लाख रुपैयाँ ऋणात्मक हुने भनिएको जगेडा कोषको आकार आउँदो वर्ष भने १४ करोड १७ लाख रुपैयाँले धनात्मक हुने र आर्थिक वर्ष २०७९/८० बढेर ३३ करोड ८६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। कम्पनीको सेयरपुँजी भने अबको तीन वर्षसम्म १ अर्ब ५३ करोड रुपैयाँ हुने भनिएको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर आव २०७९/८० सम्म १२२.०७ पुग्ने प्रक्षेपण गरिएको छ। अघिल्ला दुई वर्ष भने प्रतिसेयर नेटवर्थ क्रमशः ९०.६९ रुपैयाँ र १०९.२४ रुपैयाँ रहने अनुमान गरिएको छ।

नेटवर्थमा औसत प्रतिफल ०७७/७८ मा ४.४१ प्रतिशत तथा ०७८/७९ मा २१.५५ प्रतिशत र ०७९/८० मा २६.९० प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।