काठमाण्डौ । आज(शुक्रबार) चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ खुल्यो र अर्को साताको शुक्रबार नै नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आइपीओ खुल्दैछ । यी दुई कम्पनीका आइपीओ निष्कासन गर्ने दिन भने एउटै परेको छ । चन्द्रागिरी र नेपाल इन्फ्रास्टक्चरको आइपीओ निश्कासनको बार एउटै पर्नु संयोग मात्र हो त ? यो संयोग होइन, अबदेखि प्राथमिक सेयर निश्कासनको सुरुवात भरसक शुक्रबारदेखि नै गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि यस्तो भइरहेको हो । 

कुनै पनि कम्पनीको आइपीओ खुल्दा पहिलो दिन अत्यधिक भार 'मेरो सेयर'मा पर्ने भएकाले समेत अबदेखि बजार नखुल्ने दिन पारी शुक्रबार नै आइपीओ निष्कासनको व्यवस्था गर्न लागिएको हो । 

अनौपचारिक रुपमा शुक्रबारदेखि आइपीओ निष्कासन गर्ने नियम बसाउन सीडीएससीलाई नै तालिका निर्धारण गर्ने अख्तियारका दिने विषयमा छलफल भइरहेको छ । 

आइपीओ आवेदन गर्ने पहिलो दिन सीडीएससीको 'मेरो सेयर'मा अधिक भार पर्ने प्रक्षेपणका कारण कुनै पनि कम्पनीको आइपीओ निष्कासन सुरु शुक्रबारदेखि नै हुने व्यवस्था हुन लागेको हो । 

कुनै पनि नयाँ कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दा छिटोमा ४ दिनको अवधि तोकिएको हुन्छ ।  र, सो ४ दिनको अवधिमध्ये पहिलो दिन चाहिँ औपचारिक रुपमै शुक्रबार नै पार्ने तयारी भइरहेको सीडीएससीका एक अधिकारीले जानकारी दिए ।

सीडीएससीको 'मेरो सेयर'बाट आइपीओ आवेदन गर्दा अन्य बारमा दोस्रो बजारका लगानीकर्ताको पनि आवश्यक काम पर्ने भएकाले ट्राफिक(भिजिटर्स) धेरै हुने र रिसोर्स व्यवस्थापनकै लागि नयाँ आइपीओ निष्कासन शुक्रबारका दिनदेखि गर्ने व्यवस्था हुन लागेको ती अधिकारीको दाबी छ । 

प्राथमिक बजार २४ लाख बढी डिम्याट खाता खुलेका छन् र दोस्रो बजारमा सक्रिय लगानीकर्ता करिब पौन ५ लाख पुगेका छन् । बढ्दो बजार भएकाले दिउँसो दोस्रो बजारका लगानीकर्ताहरुले विभिन्न प्रयोजनार्थ 'मेरो सेयर'को प्रयोग गर्छन् । 'मेरो सेयर'को प्रयोगकर्ता मात्र १३ लाख ७२ हजार पुगेका छन् र यो क्रम झन् बढ्दो क्रममा छ । 

यसका फिचर्स लगानीकर्तामैत्री र सहज बन्दै गएकाले समेत 'मेरो सेयर'मा अधिक भार पर्ने गरेको छ ।

'मेरो सेयर'मार्फत् आइपीओ निष्कासन हुने पहिलो दिन बिहान १० बजेदेखि सुरु हुन्छ र अधिकांश लगानीकर्ताहरुले पहिलो दिन अफिस टाइम(१० देखि ५ बजे) नै आवेदन दिइरहेको देखिन्छ तर, 'मेरो सेयर'बाट आवेदन पहिलो दिनको बिहान १० बजेपछि बेलुकी जुनसुकै बेलामा पनि आवेदन दिन सकिन्छ भन्ने कुरा चाहिँ बिर्सनु हुँदैन ।