काठमाण्डौ । स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । 

यस्तै, जनसेवी लघुवित्तको भने सोमबार बाँडफाँड हुने भएको छ । 

स्वाभिमानको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार बिहान १० बजे बाँडफाँड हुने समय तय भएको हो । क्यापिटलको नक्सालस्थित मुख्य कार्यालयमा आइपीओ बाँडफाँड गरिनेछ । 

यस्तै, जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइपीओ सोमबार बाँडफाँड हुनेछ । 

यी दुवै कम्पनीले निश्कासन गरेका आइपीओमा अचाक्ली आवेदन परेको छ । 

आइपीओ खुलेको चौथो(अन्तिम) दिन मंगलबार साँझ ५ बजेसम्म जनसेवीको आइपीओ १४.१८ गुणा र स्वाभिमानको आइपीओ ३३.४१ गुणाले ओभरसब्स्क्राइब्ड भएको थियो । 

जनसेवी लघुवित्तको आइपीओमा ३ लाख ३५ हजार ६२१ आवेदकबाट ६१ लाख ४२ हजार ६४० कित्ताका लागि आवेदन परेको छ । योकम्पनीले निश्कासन गर्ने कुल आइपीओमध्ये ७ हजार १४५ कित्ता सो कम्पनीका कर्मचारीका लागि, २३ हजार १६५ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ३२ हजार ९९० सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यसैगरी, स्वाभिमान माइक्रोफाइनान्सको आइपीओमा ३ लाख २९ हजार ५९० आवेदकबाट ६२ लाख २ हजार २३० कित्ताका लागि आवेदन परेको छ । कुल निश्कासन हुने कित्तामध्ये ३ हजार ९३ कित्ता सो कम्पनीका कर्मचारीका लागि, ९ हजार ९३० म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

दुवै कम्पनीले गत शुक्रबारदेखि आइपीओ निश्कासन गरेका हुन् ।

पर्वतमा मुख्य कार्यालय रहेको जनसेवी लघुवित्त कम्पनीको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आइपीओमार्फत ४ करोड ६३ लाख उठाउने योजना छ, जुन सर्वसाधारण सेयरको रुपमा रहनेछ ।

आइपीओपछि कम्पनीको चुक्तापूँजी १४ करोड ४३ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्स कम्पनीले २१ वटा शाखा बिस्तार गरी पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ । 

यसैगरी, स्वाभिमान माइक्रोफाइनान्सको क्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी ६ करोड १८ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्सको मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा ६, मणिग्राममा रहेको छ ।