काठमाण्डौ । कुनै पनि कम्पनीको आइपीओ निष्कासनमा माग गरेभन्दा बढी आवेदन परेको खण्डमा बाँडफाँड गर्दा एउटा बलको सहायता लिइन्छ । 

आजै सानिमा क्यापिटले रिलायन्स लाइफको आइपीओ बाँडफाँड गर्यो । ५ लाख ८९ हजारभन्दा बढी आवेदन परेपछि कम्पनीको आइपीओ गोलाप्रथा अर्थात् बलले निर्धारण गरेको छ । आइपीओ बाँडफाँड कसरी हुन्छ ? किन त्यो बल निकालिन्छ होला ? 

वास्तवमा तपाईंलाई आइपीओ पर्ने वा नपर्ने मुख्य निर्धारण गर्ने माध्यम नै त्यही बल हो । एउटा खाली टोकरीमा १ अंकदेखि ९ अंकका बल(टेबलटेनिस बल) सबैले देख्ने गरी राखिन्छ । सोही १ देखि ९ अंकमध्ये सुरुमा १० कित्ता पर्न सोही एउटा बलले नै निर्धारण गर्दछ । कम्पनीका पदाधिकारी, निश्कासनकर्ता, मिडिया र सर्वसाधारणको उपस्थितिमा आइपीओ बाँडफाँड हुने चलन छ । जुन पछि सो प्रमाण लाहाछाप हालेर आइपीओ निष्कासन गर्ने कम्पनीलाई पठाइन्छ ।

आज रिलायन्स लाइफको आइपीओ पर्ला नपर्ला र भोलि बाँडफाँड हुुने समाज लघुवित्तको आइपीओ पर्ने नपर्ने भन्दै धेरै व्यग्र प्रतिक्षामा छन् । 
यो आइपीओ निष्कासनलाई बाँडफाँड गर्ने जिम्मा हाल पीसीएस सफ्टवेयर कम्पनीले गर्दै आइरहेको छ ।

प्राप्त आवेदनलाई सुरुमा नामाकरण गरिन्छ । जस्तै एप्लिकेन्ट वान टू थ्री । त्यसपछि विभिन्न डीपीबाट आइपीओ आवेदन डीपी कोड किटान हुन्छ । सो कोडमा कतिजनाले आवेदन दिए र कुल संख्या कति हो डेटा प्रविष्ट हुन्छ । आवेदनको नामअघि ५ वटा शून्य अंक राखी ६ डिजिटको बनाइन्छ ।

त्यसपछि बन्ने सो नम्बरलाई रिभर्स(उल्टो) बनाइन्छ । अनि सो रिभर्स नम्बरलाई एसेन्डिङ(बढ्दो क्रम)मा सर्ट गर्ने काम हुन्छ । सर्ट गरेपछि प्राप्त नम्बर नै अन्तिम सिम्बल नम्बरका रुपमा दर्ज हुन्छ ।

अब बाँडफाँड प्रक्रियामा इस्यू सेयर र आवेदनको संख्या किटान गरिन्छ । नेपाल धितोपत्र बोर्डले लागू गरेको समावेशी नीतिअनुसार सुरुमा सबैले १० कित्ताका दरले सेयर प्राप्त गर्ने नियम छ । सो नियमलाई अक्षरशः पालना गरिन्छ । मानौं ५० कित्ता सेयर इस्यू भएको छ भने आवेदन संख्या १० जना भएमा आइपीओ ५ जनाले हात पार्छन् ।

आइपीओ बाँडफाँड प्रक्रियामा सुरुमा अघि राखेको टोकरीबाट १ नम्बरदेखि ९ नम्बरमध्ये .कसैलाई सबैकासामु देखिने गरी बल थुत्न लगाइन्छ । मानौं बल थुतियो अब बल नम्बर ७ परेमा अघि विभिन्न प्रक्रियाद्वारा र्याण्डम्ली छनौट गरी तयार गरिएको अन्तिम सिम्बल नम्बरको ७ नम्बरमा परेकाले १० कित्ता सेयर हात पार्दछन् । अब दोस्रो पाउने व्यक्ति भनेको ७ नम्बरमा स्किप भ्यालू वा सम्भावना नम्बर जोडिँदै जान्छ । यो स्किप भ्यालू वा सम्भावना नम्बर भनेको चाहिँ कुल आवेदन संख्यालाई आइपीओ पर्ने संख्या(अर्थात् अघि ५० सेयरलाई १० जनाले पाउने सम्भावनाले भाग गर्दा आउने ५) लाई पहिलो थुतेको बलमा जोडिदै जान्छ । यसमा दशमलव पछाडिका अंकलाई मानिँदैन अर्थात् केबल अगाडिका नम्बरहरुलाई मात्र गणना गरिन्छ ।

यो प्रक्रियाअनुसार सुरुमा थुतेको बल ७ नम्बरमा स्किप भ्यालू ३.८ अंक जोडिन्छ र १० कित्ता पाउने दोस्रो व्यक्ति सोही १० नम्बर हो । यसैगरी सो १० नम्बरमा स्किप भ्यालू जोडिँदै अर्को तेस्रो व्यक्तिलाई आइपीओ हात लाग्छ । यो क्रमलाई सफ्टवेयर कम्पनीको सिस्टमले नै एकमुष्ट रिजल्ट दिन्छ ।

यसकारण हिजोआज गरिने बाँडफाँड प्रक्रिया निकै पारदर्शी हुन्छ । तपाईंलाई आइपीओ पर्ने मुख्य निर्धारण वा भूमिका नै सुरुमा थुतिएको बलको नम्बर हो । सोही पहिलो बलको नम्बरले नै बाँकी आवेदकले पाउने सेयरको निर्धारण गरिदिन्छ ।