काठमाण्डौ । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिको सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बन्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। 

यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले कात्तिक १० गते हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार इभोलुसन ट्रेडिङका काठमाण्डौ उपत्यकामा रहेका ७ वटा र उपत्यकाबाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सोभन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ। 

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ। उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोरमार्फत निःशुल्क उपलब्ध गराउनेछ। 

उक्त सिममा मेन ब्यालेन्स रु. १० र थप ब्यालेन्स रु. ४० उपलब्ध हुनेछ। उक्त थप ब्यालेन्सबाट कम्पनीको नेटवर्कभित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ।

एप्पलको नयाँ भर्सन आइफोन १३ प्रयोगकर्तालाई बन्डल गरिएको नेपाल टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने अपेक्षा गरिएको छ।