काठमाण्डौ । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एमएडब्लुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौता गरेको छ ।

मंगलबार आयोजित एक समारोहमा सम्झौतापत्रमा बतास एमएडब्लु प्रालिकातर्फवाट प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, बतास एमएडब्लु कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका तर्फबाट मार्केटिंग हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो। 

क्यासलेस योजनामार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एमएडब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गएर गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।

क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गएर मर्मत गराउन सकिने छ र ग्राहकले बीमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने छ। बाँकी रकम बीमा कम्पनी र बतास एमएडब्लुबीच कारोबार हुने बताइएको छ ।

दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्ने कम्पनीले बताएको छ ।

यतिमात्र नभइ ग्राहकले दुर्घटनापछि दाबी रकम बीमा कम्पनीहरुले दिंदैनन् कि भन्ने मानसिक तनावबाट पनि मुक्ति पाउने र ग्राहकहरुले बिना झन्झट छिट्टै पैसा पाउने पनि कम्पनीले बताएको छ ।

योसँगसँगै आधिकारिक सर्भिस सेन्टरमा चेकजाँच पनि दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए ।

यसअघिदेखि नै आइशरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाख रुपैयाँको आकस्मिक बीमा उपलब्ध गराउँदै आइरहेको छ ।