– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । कुनै समय साना र ठूला लगानीकर्ता छुट्याएर आईपीओ बाँडफाँड गरिन्थ्यो। आईपीओमा ५० हजार रुपैयाँसम्म लगानी गर्नेलाई साना लगानीकर्ता र सोभन्दा बढी लगानी गर्नेलाई बजारमा ठूला लगानीकर्ता भनेर परिभाषित गरिन्थ्यो। यसरी निष्कासन हुने आईपीओमा कुल संख्याको ६० प्रतिशत साना लगानीकर्तालाई र ४० प्रतिशत ठूला लगानीकर्तालाई छुट्याउने व्यवस्था थियो। 

त्यतिबेला पनि आईपीओमा सेयर पर्न भाग्यकै भर पर्नुपथ्र्यो भने पर्नेलाई न्यूनतम १० कित्ता नै पर्ने गथ्र्यो। तर, पछि लगानीकर्ताको संख्या बढ्दै जाँदा सबैलाई आईपीओमा १० कित्ता अनिवार्यको व्यवस्था ल्याइयो। मागभन्दा बढी आवेदन परेको खण्डमा भने गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गर्ने व्यवस्था गरिएको छ। 

यही नियमअन्तर्गत पछिल्लोपटक सबैलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ भर्ने सबैलाई ५० कित्तादेखि ६० कित्तासम्म सेयर परेको थियो। 

बजारमा आईपीओमा १० कित्ता सेयरको पक्ष र विपक्षमा तर्क गर्नेहरुको जमात धेरै भेटिन्छ। केही लगानीकर्ता सेयर सबैलाई दिनु नै पर्छ भन्ने मान्यता गलत रहेको बताउँछन्। यो बुझेका र जोखिम मोल्न सक्ने लगानीकर्तालाई मात्रै दिनुपर्ने उनीहरुको मत छ। किनकि सेयर पार भ्यालुमा मात्रै निष्कासन नभएर प्रिमियम र बुक बिल्डिङमा पनि निस्कासन हुन सक्छन्। यस्तो अवस्थामा आईपीओको सेयरमा लगानी पनि जोखिम हुने गर्छ।

एक सार्वजनिक समारोहमै नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पनि आईपीओमा १० कित्ताको प्रावधान हट्न सक्ने संकेत गरेका थिए। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आईपीओमा १० कित्ताको व्यवस्थाले आमसर्वसाधरणको आर्थिक उन्नतिमा टेवा पुगिरहेको बताउँछिन्। ‘त्यसैले यो व्यवस्था हटाउनै हुन्न’, उनी भन्छिन्, ‘यो व्यवस्था साना लगानीकर्ताको हितमा छ। साना लगानीकर्ता तथा गृहिणीले खाजा खर्च कटाएर भए पनि प्राथमिक सेयरमा लगानी गरेका छन्।’

आईपीओमा १० कित्ताको व्यवस्थाले अहिले विद्यार्थी, गृहिणी तथा प्रहरी सबै प्राथमिक बजारमा आकर्षित भएका छन्। ‘आईपीओमा परेको सेयर लामो समयसम्म होल्ड गर्दा केही हजारको लगानी लाखौँ पनि हुन सक्छ’, उनले भने, ‘त्यसैले यो नीति सर्वसाधरणको पक्षमा छ। कुनै अवस्थामा पनि हटाउनु हुन्न।’ 

बजार जानकार केशव कोइराला (काका) आईपीओमा १० कित्ताको विषय विवादास्पद रहेको तर्क गर्छन्। कोइरालाको विचारमा पुँजीबजारको हित हेर्ने हो भने यो व्यवस्था हटाउँदा हुन्छ। ‘किनकि यसले पुँजीबजारको हित गर्दैन, बरु उल्टै बजारबाट पैसा लैजाने अवस्था सिर्जना भएको छ’, उनले भने, ‘केही बोरे लगानीकर्ताले अहिले पनि १ हजार रुपैयाँ लगानी गरेर सयौँ खाता खोलेका छन्। तिनीहरुले १० वटा खातामध्ये ९ वटा खातामा परेको सेयर बेचेर बजारबाट पैसा लैजान्छन्। जुन पैसा फेरि बजारमा आउँदैन।’

उदाहरण दिँदै कोइरालाले भने, ‘आइएमई लाइफ इन्स्योरेन्समा डेढ अर्बभन्दा बढी पैसा बाहिर गएको छ। घोराही सिमेन्टमा पनि ३–४ अर्ब रुपैयाँ नै बाहिरिएको छ।’

आईपीओमा १० कित्ताको व्यवस्थाले न्यून आय भएका वर्गको चुलोचौका भने चलेको हुन सक्ने कोइराला बताउँछन्। ‘केही साना लगानीकर्ताको घरखर्च पनि चलेको हुन सक्छ’, उनले भने, ‘यसकारण आईपीओमा १० कित्ताको व्यवस्था केही विवादित पनि छ।’