– अर्जुन तिमिल्सिना

काठमाण्डौ । प्राथमिक सेयरको कमाइबाटै कुनै समय सहज जीवनयापन चल्थ्यो। त्यतिमात्रै होइन आईपीओकै कमाइबाट सहरबजारमा घर–घडेरी जोड्ने थुप्रै लगानीकर्ता पनि छन्। तर, पछिल्लो समय लगानीकर्तालाई आईपीओको सेयर ‘आकाशको फल आँखा तरी मर’जस्तै भएको छ। 

एक ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता गजेन्द्र रानाभाट पछिल्लो समय आईपीओ नपरेकोमा दिक्क मान्छन्। ‘मेरो परिवारका १५ जनाभन्दा बढी सदस्यले आईपीओ भर्छन्’, निराश हुँदै रानाभाट भन्छन्, ‘खोइ कसैलाई पनि पर्दैन। अहिले त आईपीओमा सेयर पर्ने आशै छैन।’

रानाभाट त एक उदाहरण पात्रमात्र हुन्। आईपीओ नपरेको गुनासाहरु ब्रोकर हाउसदेखि क्यापिटलहरुसम्म प्रशस्तै सुन्न पाइन्छ। 

पछिल्लोपटक बाराही हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको थियो। स्थानीय र म्युचुअल फन्डलाई बाँडफाँड गरेर जम्मा ५ लाख कित्तामात्रै सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो। 

प्रायः आईपीओ बाँडफाँड कार्यक्रममा सधैँ र सबैभन्दा पहिले लक्ष्मण श्रेष्ठ पुग्ने गर्छन्। धेरैजसो क्यापिटलले राम्रैसँग चिन्ने लक्ष्मणलाई लगानीकर्ताका तर्फबाट बल तान्न लगाइन्छ।

एनआईबिएल एस क्यापिटलमा भएको बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँडमा लक्ष्मणले नै बल तानेका थिए। बल तानिसकेपछि भने एक कर्मचारीले ठट्यौली पारामा भने, ‘आज पनि लक्ष्मणजीले बल तान्नुभयो, मलाई यसपल्ट पनि नपर्ने भो !’

ती कर्मचारीको बोली भुइँमा खस्न नपाउँदै कार्यक्रमस्थलमा हाँसोको फोहोरा छुट्यो। केही समयपछि लक्ष्मण कार्यक्रमस्थलबाट बाहिरिए। 

आफ्नो गन्तव्यमा जान मोटरसाइकल स्टार्ट गर्दैगर्दा लक्ष्मण श्रेष्ठले बिजशालाकर्मीसँग भने, ‘आईपीओमा सेयर परेन भनेर थोरैमा ३ लाखले गाली गर्छन्, सबैलाई त सेयर पर्दैन नि !’

त्यसपछि लक्ष्मण मोटरसाइकलमा आफ्नो गन्तव्यतिर हुइँकिए।