 
                     
                                
                             
                                    – अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड गरेको छ।
अन्य कम्पनीको आईपीओ बाँडफाँड कार्यक्रमभन्दा आज नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड कार्यक्रममा फरक रौनक देखिएको थियो। यो आईपीओ बाँडफाँड कार्यक्रममा धेरै भीडभाड पनि देखियो।
बिहान १० बजे भनेको बाँडफाँड कार्यक्रम करिब साढे १० बजेबाट सुरु भएको थियो। कार्यक्रम हलमा सबै जम्मा हुँदै गर्दा एकाएक फिल्मीशैलीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि आइपुगे।
आईपीओ बाँडफाँड कार्यक्रममै उपप्रधानमन्त्रीजस्तो व्यक्तित्व आएपछि हलको वातावरण नै अर्कै भयो। त्यसपछि हलभित्र सुरक्षा व्यवस्था पनि कडा पारियो।
हलमा आईपीओ बाँडफाँडका लागि बल तान्ने कार्यक्रम अगाडि बढ्यो। धेरैले सधैँजसो लगानीकर्तालाई नै बल तान्न बोलाइन्छ होला भन्ने सोचेका थिए। तर, उद्घोषकले एकाएक उपप्रधान्मन्त्री श्रेष्ठलाई बल तान्न स्टेजमा बोलाए।
अनि गमक्क पर्दै उपप्रधानमन्त्री श्रेष्ठ स्टेजमा चढे। केहीबेर बलहरु डालोमा घोलियो र तान्न भनियो। उपप्रधानमन्त्री श्रेष्ठले डालोबाट एउटा बल तानेर देखाए। स्टेज अगाडि बसेकाहरुले ‘९’ नम्बर भनेर हल्ला गरे। उपप्रधानमन्त्री श्रेष्ठले पनि ‘९’ नै भने। तर बल ‘६’ नम्बर थियो। फेरि धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटलका एक अधिकारीले ‘होइन ‘६’ नम्बर हो’ भनेपछि हलमा हाँसोको फोहोर नै छुट्यो।
खासगरी बल अंग्रेजीमा लेखिएको ‘6’ र ‘9’ नझुक्किन बलमा लेखिएको अंकको मुनि अक्षरमा पनि लेखिएको हुन्छ। सधैँ बल तान्नेले अंक र अक्षरमा लेखिएको दुवै हेरेर मात्र भन्ने गर्छन्।
पहिलोपटक बल तानेका उपप्रधानमन्त्री श्रेष्ठलाई भने यो कुरा थाहा थिएन। त्यसैले उनी झुक्किएर ‘६’ नम्बरलाई ‘९’ भनेका हुन्।
फेरि अर्को नम्बर पनि तान्नुपर्ने भयो। उपप्रधानमन्त्रीले ‘३’ नम्बर तानेर हाँस्दै भने, ‘राम्रोसँग हेर्नुहोस् है अघिको जस्तै होला।’
हलमा उपस्थित एक लगानीकर्ताले भने, ‘अंग्रेजीमा ‘6’ नम्बर र ‘9’ नम्बर उल्टोपाल्टो पार्ने हो भने झट्ट हेर्दा उस्तै–उस्तै देखिन्छ। उपप्रधानमन्त्री झुकिन्नु स्वभाविकै हो।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19