-मनिष सोती
काठमाण्डौ । साना लगानीकर्तालाई मध्यनजर गर्दै म्युचुअल फण्ड योजना व्यवस्थापकहरुले बजारमा ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)’ योजना ल्याएका छन् । थोरै–थोरै रकम बचत गर्न वा लगानी गर्न प्रोत्साहन गर्नका लागि मर्चेण्ट बैंकरहरुले यस्तो योजना ल्याएका हुन् । 

सामान्यतया आफ्नो नियमित आम्दानीको कम्तीमा २० प्रतिशत जोगाउनुपर्ने शिक्षा बचतको नियमले दिने गर्छ । तर जसको तलब पहिले नै थोरै छ र काँधमा समेत ठूलो जिम्मेवारी छ, उनीहरुलाई कति खर्च गर्ने र कति बचत गर्ने भन्ने कुरामा अन्यौल हुनसक्छ । 

विज्ञहरुकाअनुसार अब बचतले मात्रै तपाईको सम्पत्ति तथा रकमलाई बलियो बनाउँदैन । बचतसँगै आम्दानीको केही प्रतिशत रकम भएपनि लगानीतर्फ लैजानुपर्छ । यदि लामो समयसम्म निरन्तर बचत र लगानी गरिरहनुहुन्छ भने तपाईले बचतबाट पनि ठूलो पैसा कमाउन सक्नुहुन्छ । 

बजारमा अहिले मर्चेण्ट बैंकरहरुले १ हजार रुपैयाँ समेत बचत तथा लगानी गर्न सकिने सिस्टम ल्याएका छन् । सबैको आम्दानी एकै प्रकारको नहुने भएकाले आम्दानीअनुसारको रकम बचत तथा लगानी गर्न उचित माध्यम भनेको नै सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) हो । 

मानौं तपाईको मासिक आम्दानी ३० हजार रुपैयाँ छ भने आम्दानीको १० प्रतिशत रकम अर्थात् ३ हजार रुपैयाँ एसआईपीमा मासिक रुपमा बचत तथा लगानी गर्नुहुन्छ, भने ३० वर्षपछि औषतमा १२ प्रतिशतले कम्तिमा १ करोड ५ लाख ८९ हजार रुपैयाँ प्राप्त हुन्छ । 

नेपाली पुँजी बजारमा केही समयअघि मात्रै आएको यो योजना भविष्यका लागि समेत लगानी गर्न चाहने सबै लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको एनआइसी एशिया क्यापिटलका प्रमुख संचालन अधिकृत(सीओओ) प्रज्ञरत्न शाक्य बताउँछन् । 

एनआइसी एशिया क्यापिटल लिमिटेडले स–साना लगानीकर्ताहरुलाई समेत मध्यनजर गर्दै म्युचुअल फण्डको ‘एनआइसी एशिया डायनामिक डेब्ट फण्ड’अन्तर्गत एसआईपीको सुविधा ल्याएको छ । 

अत्यधिक मागले गर्दा उक्त फण्डको आकार ५० करोडबाट बृद्धि गरी हाल १ अर्ब पुर्याइएको शाक्यको दाबी छ । सेबोनबाट १ अर्बको फण्ड साइज स्वीकृत भएकोमा हाल ६२ करोड बराबरको एसआइपीका युनिटहरु बिक्री भइसकेका छन् । 

‘एनआइसी एशिया क्यापिटलले एसआईपी प्लान ल्याएको एक वर्ष भइसकेको छ, हाल क्यापिटलले एनआइसी एशिया डायनामिक डेब्ट फण्डमा एसआइपीको सुविधा दिइरहेको छ’ उनले भने, ‘स–सानो रकमको बचत तथा लगानी सुरक्षित गर्न एनआइसी एशिया डायनामिक डेब्ट फण्ड नै उचित माध्यम हो, जसकारण आज हजारौं लगानीकर्ताहरु एसआईपीको माध्यमबाट जोडिनु भएको छ ।’ 

एनआइसी एशिया क्यापिटलले हाल फण्ड रकमको ८० प्रतिशत स्थिर लगानी उपकरण(डिवेञ्चर, एफडी लगायत)हरुमा लगानी गरेको छ भने २० प्रतिशत रकम सूचीकृत सेयरमा लगानी गरेको छ । हाल ८०ः२० अनुपातमा रहेको लगानीको आकारलाई बजारको अवस्था हेरेर कम्पनीले ७०ः३० सम्मको अनुपातमा ल्याउनसक्ने योजना रहेको उनले बताए । 

 

एनआइसी एशिया क्यापिटलको एसआईपी प्लानअन्तर्गत डायनामिक डेब्ट फण्डमा लगानी गर्नु जोखिम न्यून हुने शाक्य दाबी गर्छन् । उनले भने, ‘एसआइपीमा लगानी गर्दा स्टक मार्केटमा सेयरभाउ घटेजस्तो जोखिम हुँदैन, आफूले इन्भेष्ट गरेको रकम प्रतिफलसहित रिटर्न पाउनुहुन्छ ।’ 

एसआईपीमा लगानी गर्दा म्युचुअल फण्डको इकाई अनुसार प्रतिफल पाइने हुँदा जोखिम नरहने उनी बताउँछन् । ‘एनआइसी एशिया डायनामिक डेब्ट फण्डको न्याभ १० रुपैयाँभन्दा बढी नै छ, सोभन्दा तल झर्ने सम्भावना न्यून छ’ उनले भने, ‘यदि तपाईले मासिक ३ हजार रुपैयाँका दरले एसआईपीमा लगानी गर्नुभएको छ भने तपाईको पोर्टफोलियोमा सो रकम बराबरको उक्त फण्डको इकाई देखिन्छ।’ 

साथै म्युचुअल फण्डले वर्षेनी दिने लाभांश रकम लगानीकर्ताले सोझै लिन वा सो रकम बराबरको सम्बन्धित फण्डको इकाईमै लगानी गर्न पनि सकिने शाक्यले बताए ।

‘म्युचुअल फण्डको खुल्लामुखी योजनाअन्तर्गत एनआईसी एशिया डाइनामिक डेप्थ फण्ड योजनामा दुईवटा विकल्प हुन्छन्, लाभांश र पुनः लगानी । लगानीकर्ताले लाभांश रकम वर्षेनी आफ्नो खातामा प्राप्त गर्न पनि सक्नुहुन्छ, भने लाभांश रकम बराबर पुनः इकाईमा नै लगानी गर्न सक्नुहुनेछ’ उनले भने, ‘डायनामिक डेब्ट फण्डले गत वर्षको मुनाफाबाट इकाईधनी तथा लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश दिएको छ । मानौं तपाईको योजनाको इकाईमा ५ हजार लगानी छ भने तपाईले ५०० रुपैयाँ लाभांश पाउनुहुन्छ, सोही रकमलाई पुनः लगानी गर्न चाहानुहुन्छ भने फण्डको न्याभ १० रुपैयाँ रहेको छ भने तपाईको पोर्टफोलियोमा ५० इकाई प्लस हुन जान्छ ।’ 

लामो समयका लागि लगानी गर्न चाहनेहरुका लागि एसआइपी योजना लाभदायी हुने शाक्यले बताए । ‘आफ्नो लगानी स्थिर राख्न र निरन्तर प्रतिफल प्राप्त गर्न एसआईपीमा लगानी गर्नु उचित हुन्छ’ उनले भने, ‘बचतसँगै लगानीको विकास गर्न एसआइपी नै सबैभन्दा उचित माध्यम हो ।’

‘आइपीओ भर्ने पैसा एसआईपीमा लगानी गर्दा उचित’
एसआईपी योजनामा न्यूनतम १ हजार रुपैयाँदेखि फण्डको आकारको १० प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था छ । न्यूनतम हजार रुपैयाँबाटै लगानी सुरु गर्न सकिने भएकाले आईपीओमा खर्चिनु भन्दा एसआईपीमा लगानी गर्दा उचित हुने शाक्य बताउँछन् । 

उनी भन्छन्, ‘पछिल्लो समय आइपीओमा अत्यधिक आवेदन पर्दा सेयर पाउने सम्भावना न्यून छ, कुनै कम्पनीको आईपीओ पाउन भाग्यकै भरमा बस्नुपर्ने अवस्था छ । प्रत्येक आईपीओ भर्दा ५–१० रुपैयाँ सि–आस्वा शुल्क काटिन्छ, र आईपीओ पर्ने निश्चित पनि हुँदैन । तपाईको रकम केही समयसम्म बिनाप्रतिफल होल्डमा बस्छ । बरु सोही रकम एसआईपीमा लगानी गर्दा लगानी स्थिर हुन जान्छ र रिटर्न पाउने ग्यारेन्टी समेत हुन्छ ।’

‘खर्च घटाई लगानीमा जोड दिऔं’
नियमअनुसार पनि आम्दानीको २० प्रतिशत रकम लगानीका लागि छुट्याउनै पर्ने हुन्छ । तर हामी कतिपयले आम्दानी रकमबाट खर्च घटाइसकेपछि मात्रै बचत र लगानीका लागि छुट्याएका हुन्छौ । 

मासिक हुने आम्दानीबाट सर्वप्रथम लगानीका लागि छुट्याउन शाक्य जोड दिन्छन् । ‘लगानीको सूत्रअनुसार इन्कम माइनस एक्सपेन्सेस इजकल्टु सेभिङ भन्ने छ, तर बचतसँगै पनि लगानीमा बढी जोड दिनुपर्ने पछिल्लो नियम तथा सूत्रले बताउँछ’ उनले भने, ‘हामीले जति कमायौं सबैभन्दा पहिला लगानीका लागि छुट्याएर मात्रै बाँकी रकम खर्च गर्ने बानी बसाल्नुपर्छ, अझ भन्नुपर्दा खर्च सकेसम्म कम गरेर लगानी गर्ने बानी बसाल्नुपर्छ ।’

के हो एसआईपी ? 
‘एसआईपी’ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानको सर्ट फर्म हो । यो एक व्यवस्थित लगानी योजना हो । एसआईपी प्लान खुलामुखी म्युचुअल फण्ड संचालन गरेका योजना व्यवस्थापक
हरुले संचालन गर्ने एक योजना हो । 

सुन्दा नयाँ लागेपनि एसआईपी भनेको खुलामुखी म्युचुअल फण्डभित्रकै एउटा स्किम वा फिचर्स हो । मर्चेण्ट बैंककाअनुसार धितोपत्र दोस्रो बजारबाट म्युचुअल फण्ड खरिद गर्नु र एसआईपीबाट फण्डमा लगानी गर्नु फरक पर्दछ।

सेयरबजारबाट फण्ड खरिद गर्दा फण्डको बजार मूल्यको आधारमा प्रतिफल वा प्रफिट पाउने वा नपाउने भन्ने हुन्छ भने एसआईपीबाट म्युचुल फण्डमा लगानी गर्दा फण्डको इकाई मूल्यबाट प्रतिफल निर्धारण हुन जान्छ । 

दोस्रो बजारबाट भन्दा म्युचुअल फण्डमा एसआईपीबाट लगानी गर्दा जोखिम न्यून हुने विज्ञहरु बताउँछन् । 

साथै एसआईपीले लगानीकर्तालाई थोरै लगानीबाट नियमित रुपमा बचत गर्न समेत सिकाउँछ । खुलामुखी म्युचुअल फण्ड संचालन गरेका योजना व्यवस्थापकहरुले सर्वसाधारणबाट थोरै–थोरै गरी सो रकम सूचीकृत सेयरमा लगानी गरेका हुन्छन्।  

के छ यसको फाईदा ? 
एसआईपीबाट सर्वप्रथम त बचत तथा लगानी गर्ने बानीको विकास हुन्छ । स–सानो रकम फजुल खर्च गर्नुभन्दा लगानी गर्नमा प्रेरित हुन्छ । लगानीकर्ताले एसआइपीबाट जम्मा भएको रकम एकैपटक १०–१५ वर्षपछि वा मासिक रुपमा पनि आफूलाई चाहिएजति समेत निकाल्न सक्नेछन् । 

साथै एसआईपीले लगानीकर्तालाई एकैपटक ठूलो रकम जम्मा गर्नुको सट्टा लामो अवधिमा सानो रकम लगानी गर्ने मौका दिनेछ । यदि एक व्यक्तिले मासिक ३ हजार रुपैयाँका दरले एसआईपीमा लगानी गरेको छ, भने सोही व्यक्तिले आफ्नो आम्दानीअनुसार लगानीको दायरा घटबढ समेत गर्न सक्नेछ ।

बैंकमा मासिक रुपमा २–३ हजार रुपैयाँका दरले बचत गर्नुभन्दा एसआईपीमा लगानी गर्दा अधिकतम प्रतिफल आउने क्यापिटलले जनाएको छ । एसआईपीमा लगानी गर्दा सोही रकम मर्चेण्ट बैंकहरुले खुलामुखी म्युचुअल फण्डमा लगानी गर्दछन् र वर्षेनी नगद लाभांश वितरण गर्दछ । 

एसआईपीमा लगानी गर्ने प्रक्रिया 
एसआईपीमा लगानी गर्न चाहाने लगानीकर्ताहरुले यो योजना सुरु गर्नका लागि मर्चेन्ट बैंकमा गई फाराम भर्न सक्नेछन् । साथै एसआईपी योजना ल्याएका मर्चेण्ट बैंकको वेबसाइटमा गई अनलाइन फाराम समेत भर्न सकिने व्यवस्था रहेको छ । 

उक्त फाराममा डिम्याट खाताकै विवरण, बैंकको विवरण र मासिक वा त्रैमासिक रुपमा कति रकम बराबरको एसआईपी गर्ने हो उल्लेख गर्नुपर्नेछ । 

हाल यो सेवा एनआइसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, एनआइबिएल एस क्यापिटल लगायत केही मर्चेण्ट बैंकहरुले मात्रै दिइरहेका छन् । 

एसआईपीमा लगानी गर्दा कुनै शुल्क तिर्नुपर्दैन । फाराम भर्दा लगानी रकम र महिनाको कति गते लगानी रकम भुक्तानी गर्ने भन्ने खुलाउनुपर्नेछ । साथै बन्दमुखी र खुलामुखी दुबैको सेवा लिन सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार लगानी गर्नुअघि निश्चित अवधिसम्म लगानी गर्ने र अनिश्चित समयसम्म लगानी गर्ने भन्ने खुलाउन सकिनेछ । 

साथै मासिक रुपमा लगानी गर्ने रकम क्यापिटलका विभिन्न शाखामा गई वा सोझै कनेक्ट आइपीएस, ई–सेवा, खल्तीमार्फत समेत भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।