– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेप्सेमा सूचीकृत फाइनान्स कम्पनीमध्ये आईसीएफसी पनि एउटा हो। विसं. २०६० सालमा स्थापना भएको राष्ट्रियस्तरको यो कम्पनीले आउँदो पुस ५ गते १८ औँ वार्षिक साधारणसभा गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ। 

यो फाइनान्सको उपत्यकामा ७ वटा र उपत्यकाबाहिर १३ वटा गरेर कुल २० वटा शाखा रहेका छन्। यो फाइनान्सका सेवाहरुमा रेमिट्यान्स, डिम्याट खाता र सी–आस्बा  सेवालगायत सबै वित्तीय सेवा दिन्छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० रुपैयाँ रहेको छ। कम्पानीको रिटेन अन अर्निङमा  १६ करोड ३५ लाख ६८ हजार १२३ रुपैयाँ र रिजर्भमा ४५ करोड ४२ लाख ३८ हजार ४५७ रुपियाँ रहेको छ। 

कम्पनीको ईपीएस १८.६१ रुपैयाँ र प्राइस अर्निङ ३६.०१ गुणा रहेको छ। नेटवर्थ १४६.६९ रुपैयाँ रहेको छ। कम्पनीको १० वर्षको लाभांश इतिहास हेर्दा औसत १३.८ प्रतिशत रहेको छ। कम्पनीले एकपटक ५० प्रतिशत हकप्रद निष्कासन गरेको थियो। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

यसमा ९ डिग्री र ५ वेभ हुन्छन्। त्यस्ता वेभहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। 

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले  बजार तल जाने संकेत गर्छन्। 

आईसीएफसी फाइनान्सको सेयरमूल्य १३२ रुपैयाँदेखि हालसम्मको विभिन्न चक्रहरुलाई हेर्दा झन्डै १२०० रुपैयाँसम्मको पुगेको देखिन्छ। त्यहाँबाट वेभ ए, बी र सी बनाउँदै लगभग ६०० रुपैयाँसम्म एउटा चक्र पूरा गरेर वेभ (१) लगभग १०६३ रुपैयाँसम्म र वेभमा (२) मा करेक्सन भएर ८०० रुपैयाँ सम्म, वेभ (३) लगभग लामो वृद्धिका साथ १२०० रुपैयाँसम्म र वेभ (४) मा पुनः करेक्सन भएर १०६१ रुपैयाँसम्म आएको देखिन्छ। अब वेभ (५) मा केही समय लिएर फिवोनासी एक्सटेन्सनको १.६१ प्रतिशतको वृद्धिले यो कम्पनीको सेयरमूल्य लगभग १५०० रुपैयाँसम्म पुग्नसक्ने देखिन्छ। (माथि मुख्य तस्बिर हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कती कती प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ९५५ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ८८३ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ८२९ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवामा ७७१ रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवामा ६९३ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत नोभेम्बर २१ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियारिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियारिस सिग्नल बनेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरको मूल्यमा करेक्सन हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले मध्य ब्यान्डभन्दा तल गएको छ र तल्लो ब्यान्डलाई छुन खोजेको देखिन्छ। सामान्यतय मध्य रेखाभन्दा तल गएपछि तल्लो विन्दुलाई छुने भएकोले केही समय करेक्सन हुन सक्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ४७ को तह अर्थात न्युट्रल जोनमा रहेको छ।  अघिल्लोपटक यो न्युन विन्दु ३२ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ७४.१८ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्यमा केही करेक्सनको सम्भावना देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ। आगामी साता यदि बजार बढेमा प्रतिरोध र घटेमा सर्पोट निम्नानुसार हुन सक्नेछ। हालको मूल्य पिभट प्वइन्टभन्दा तल भएकोले यो औजारले पनि केही करेक्सनको सम्भावना देखिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ९२५
  • प्रतिरोध २– १००१
  • प्रतिरोध ३– १०६७

पिभट प्वइन्ट :  ८५९

घटेमा सपोर्ट 

  • सपोर्ट १– ७८३ 
  • सर्पोर्ट २– ७१७
  • सर्पोर्ट ३– ६४१

निष्कर्ष

प्राविधिक रुपमा यो कम्पनीको सेयरमूल्य अल्पकालमा केही करेक्सनको सम्भावना रहेको विभिन्न अल्पकालीन औजारहरुबाट देखिन्छ। जुन कुरा एमएसीडी लाइन, बोलिंगर ब्यान्ड तथा आरएसआईले प्रस्ट सिग्नल गरेको देखिन्छ। इलिअट वेभमार्फत हेर्दा भने दीर्घकालीन रुपमा यो कम्पनीको भाउ केही समयको अन्तरालमा भने पुनः उकालो नै लाग्ने सम्भावना छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका भने होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।