काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरससँग जोडिएका संकटहरु आउँदा दिन अझै डरलाग्दो रुपमा आउन सक्ने चेतावनी दिएका छन्।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा प्रतिबन्धहरु केही देशले खुकुल पार्न लागेको खबर आएसँगै टेड्रोसले यस्तो चेतावनी दिएका हुन्। तर उनले यो भाइरसले कस्तो डरलाग्दो रुप लिने भन्ने विषयमा भने खुलाएनन्।

टेड्रोसले कोरोनाबाट निम्तिन सक्ने भविष्यको डरलाग्दो अवस्थालाई सन् १९१८ को स्पेनिस फ्लुबाट उत्पन्न परिस्थिति तुलना गरेका छन्। उनले भने, ‘यो निकै खतरनाक मेल हो र अहिले त्यस्तै भइरहेको छ। त्यतिखेर स्पेनिस फ्लुबाट विश्वमा १० करोड मानिसको ज्यान गएको थियो।’

टेड्रोलले अहिलेको अवस्थामा अत्याधुनिक प्रविधि रहेका कारण यस्तो आपत्लाई रोक्न सकिने पनि बताएका छन्। ‘मलाई विश्वास गर्नुहोस्, आउँदो दिनमा यो भाइरसको डरलाग्दो रुप देखा पर्नेछ, त्यसलाई हामी सबै मिलेर रोकौँ’, उनले भने।

डब्ल्यूएचओबाट यस्तो चेतावनी आएकै अवस्थामा केही दिनअघि अमेरिकाले भने यो संगठनले कोरोनाभाइरसका बारेमा सत्यतथ्य जानकारी समयमै उपलब्ध नगराएको भन्दै फन्डिङ रोकेको थियो। 

विश्वमा मंगलबार बिहानसम्म कोरोनाभाइरसबाट २५ लाखका हाराहारीमा संक्रमित भइसकेका छन् भने १ लाख ६६ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। यो संकट आउँदा दिनमा अफ्रिकामा कोहराम मच्चाउने अनुमान गरिएको जहाँ स्वास्थ्य व्यवस्थाको अवस्था निकै खराब छ। 

लकडाउनका बीच यी देशमा राहात

अमेरिका, स्पेन, डेनमार्कसहित केही देशले लकडाउन केही खुकुलो पारेका छन्। 

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक शटडाउन हटाउनेविरुद्ध सडकमा उत्रिएका छन् भने इकोनमी खोल्न माग गरिरहेका छन्। 

स्पेनमा कार्यालयमा गएर काम गर्न अनुमति पाएका र घरमै बसेर काम गर्ने अवस्था नभएका कर्मचारीलाई कार्यालय जान छुट दिइएको छ। 

डेनमार्कमा स्कुलहरु खुलेपछि अहिले ब्युटीपार्लर पनि खुला गर्न छुट दिइएको छ। 

पाकिस्तानमा ‘नो रिस्क’ को सूचीमा केही उद्योगलाई हालेर सञ्चालन गर्न अनुमति दिइएको छ। – एजेन्सी