-राजु पौडेल
नेपालको पूँजीबजारको इतिहास दुई दशकभन्दा लामो छैन । हामी सँगै सुरु भएका छिमेकी मुलुकका पुँजीबजार धेरै माथि पुगिसकेका छन् । ती मुलुकले पुँजीबजारको बिकासका लागि आवश्यक सम्पूर्ण पूर्वाधारनिर्माण गरिसकेका छ्न् । आज तिनीहरुको पुँजीबजार अन्तर्राष्ट्रिय स्तरको र पूर्ण प्रविधिमैत्री भइसक्दा पनि हाम्रो पुँजीबजार धेरै मन्द गतिमा अगाडि बढ्दैछ । हामी उनीहरुभन्दा धेरै तल छौ । उनीहरुले सगरमाथाको चुचुरो चुमिसक्दा हामी नाम्चेबजारतिर रुमल्लिदै छौ । हामीभन्दा धेरै पछि सुरुवात भएको म्यानमारको पुँजीबजार पनि आज धेरै माथि पुगिसकेको अवस्था छ । अहिलेसम्म पनि हाम्रो पुँजीबजार न त पूर्ण रुपमा प्रविधिमैत्री हुन सकेको छ न त अन्तर्राष्ट्रिय स्तरको नै हुन सकेको छ । हुन त नेपाल लामो समयसम्म राजनीतिक अस्थिरताबाट गुज्रियो, जसका कारण देशको आर्थिक विकास हुन सकेन । निजीकरणको नाममा देशमा भएका उद्योगधन्दा बेचेर सिध्याइयो ।
भनिन्छ पुँजीबजार अर्थतन्त्रको ऐना हो, जबसम्म अर्थतन्त्र सबल हुँदैन तबसम्म पुँजी बजारको विकास पनि हुँदैन । अर्कोतिर जबसम्म पुँजी बजार बलियो हुँदैन, तबसम्म अर्थतन्त्र पनि सबल हुँदैन । देश लामो राजनीतिक अस्थिरताबाट गुज्रिदा देशको अर्थतन्त्र सबल हुन सकेन । अर्थतन्त्र सबल नहुदा पुँजीबजारको विकास पनि अपेक्षित भएन । नेपालको पुँजीबजारको जुन गतिमा विकास हुनु पर्ने थियो, त्यो गतिमा बिकास हुन नसके पनि केही कुरामा बिकास भएको छ । केही महिना अघिसम्म घण्टौ लाईनमा बसेर आईपिओ र एफपिओ भर्नुपर्ने बाध्यताको अन्त सीआस्वा प्रणालीको सुरुवात सँगै भएको छ भने डिम्याट खाताको सुरुवातसँगै सेयरका कागजी प्रमाणपत्र बोकेर हिँडनुपर्ने झन्झटबाट लगानीकर्ताले मुक्ति पाएका छन् ।
जसरी नेपालको प्राथमिक सेयर बजारले एउटा छ्लाङ मार्न सफल भएको छ । त्यो गतिमा दोस्रो बजारमा विकास हुन सकिरहेको छैन । अहिले पनि पचासवटा ब्रोकर कम्पनीको सिन्डिकेटमा खरबौको दोस्रो बजार चलिरहेको छ । देशका सीमित ठूला सहरमा मात्र सेयर कारोवार हुँदै आइरहेको छ । अहिलेसम्म पनि सबै नेपाली जनताको पहुँचमा पुँजीबजार पुग्न सकिरहेको अवस्था छैन । नेपाली लगानीकर्ताहरुले आईपिओ र एफपिओ सीआस्वाको प्रयोग गरी जहाँबाट पनि भर्न पाउने भए, तर आइपीओ र एफपीओमा परेको सेयरको दोस्रो बजारमा उचित मूल्य आउँदा पनि बेच्न पाउने सुबिधा अहिलेसम्म पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा नेपाल सरकार, अर्थमन्त्रालय, राष्ट्रबैंक, बिमा समिती, धितोपत्र बोर्ड र नेप्सेले समन्वयकारी भूमिका खेल्दै नेपालको पुँजीबजार पुर्वाधारको विकासमा जोड दिने हो भने हाम्रो देशको पुँजीबजार पनि छिट्टै अन्तर्राष्ट्रिय स्तरको र प्रविधिमैत्री हुनसक्छ । हरेक बादलभित्र चाँदीको घेरा हुन्छ भने जस्तै हाम्रो पुँजीबजारको विकास र विस्तारका लागि धेरै सम्भावना अगाडि आएका छन् । ती संभावनाहरु यथार्थमा परिणत भएका दिन पूँजीबजारका लागि साच्चिकै स्वर्णिम दिन हुनेछन् ।
हामीले धेरै लामो समयदेखि सेयर बजार पूर्ण प्रविधिमैत्री हुनुपर्ने र छिट्टै अनलाइन कारोबार प्रणालीको सुरुवात हुनुपर्ने माग उठाउँदै आएका छन् । हरेक नेपालीको पहुँचमा सेयरबजार पुग्नुपर्ने अर्को माग समेत हाम्रो रहिआएको छ । आजको दिनमा हाम्रा महत्वपूर्ण यिनै दुई माग पूरा हुने क्रममा छन् । साउन १ गतेदेखि नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सफलतापूर्वक परीक्षण गदैृछ भने मौद्रिक नीतिमार्फत बैंकहरुले चाहेको खण्डमा सहायक कम्पनी स्थापना गरी धितोपत्र दलालको काम गर्न पाउने नीतिगत व्यवस्था भएको छ ।
यी दुई कुराहरूको कार्यान्वयन सँगै नेपालको सेयर बजारले एउटा छ्लाङ मार्न सफल हुनेछ भन्ने आशा हामीमा छ । अनलाइन कारोबार प्रणालीको सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्स दिनु भनेको नेपाली पुँजीबजारको विकासका लागि कोषेढुङ्गा सावित हुनु हो ।
भारतीय सेयर बजारमा सन २००० को दशकबाट अनलाइन कारोबार प्रणालीको सुरुवात भएको देखिन्छ । अनलाइन प्रणालीको सुरुवात सँगै भारतीय सेयरबजारले ठूलो फड्को मारेको देखिन्छ । भारतमा अनलाइन प्रणालीबाट सेयर कारोवार सुरु भएपछि कारोवारमा आवद्ध हुने लगानीकर्ताहरुको संख्या तथा कारोवार रकममा भारी वृद्धि भएको देखिन्छ । अनलाइन प्रणालीबाट कारोवार सुरु भएको पहिलो वर्षमा त्यहाँको बजार सूचक झण्डै ६० प्रतिशतले वृद्धि भएको देखिन्छ । अहिले भारतीय सेयरबजार विश्वकै टप पाँच सेयरबजारमा पर्छ । भारतीय सेयरबजारले अनलाइन कारोबार प्रणाली कार्यान्वयनसँगै निकै ठूलो फड्को मार्न सफल भएको देखिन्छ । अहिले भारतको एनएसइ र बिएसइको सूचक ३६००० माथि पुगिसकेको छ । यसबाट के देखिन्छ भने नेपालको सेयर बजारमा समेत अनलाइन प्रणालीको सुरुवात भएपछि बजार बढ्ने सुनिश्चित छ ।
जब-जब नेपाली पुँजीबजारमा नयाँ-नयाँ प्रविधिको प्रयोग भएको छ, तब तब बजारले एउटा नयाँ इतिहास रचेको छ । जस्तै २०६४ सालमा ओपन क्राइ प्रणालीबाट नेपाली पुँजीबजार कम्प्युटर प्रणालीमा प्रवेश गर्यो, तब बजारले २०६५ साल भाद्र १५ गते नेप्से सुचक ११७५ पुगेर नयाँ इतिहास रच्यो । यसैगरी, २०७३ साल श्रावण १ देखि उपत्यका र २०७३ माघ १ देखि देशभरी डिम्याट प्रणालीलाई अनिवार्य गरियो, तब नेपालको सेयर बजारले २०७३ साल श्रावण १२ गते १८८१ अंकको ऐतिहासिक उचाई चुम्यो । यसरी नयाँ प्रबिधिको प्रयोगसँगै नेपाली सेयर बजारले एउटा नयाँ इतिहास रचेको देखिन्छ ।
अब २०७५ श्रावण १ देखि अनलाइन प्रणालीको सुरुवात हुँदैछ । माथिको इतिहास र त्यसपछि बजारको अवस्थालाई नै आधार मान्ने हो भने अबको एक वर्ष भित्रमा नेपालको सेयर बजारले फेरि अर्को इतिहास निर्माण गर्न सफल हुनेछ भन्ने बलियो आधार हामी सामुन्ने छ ।
अहिलेसम्म नेपालको सेयर कारोवार अफलाइनबाट हुँदै आएको थियो भने अब श्रावण १ गतेदेखि अनलाइनबाट सुरु हुँदैछ । यो प्रणालीको सुरुवात सँगै नेपाल अधिराज्यभर र संसारको जुनसुकै कुनाकाप्चामा बस्ने नेपाली नागरिकले त्यही बसी बसी ब्रोकर कम्पनीले लगानीकर्तालाई उपलब्ध गराउने सफ्टवेर, युजर नेम र पासवर्डको प्रयोग गरी कम्प्युटर तथा मोबाईलको सहायतामा ईन्टरनेट मार्फत दोस्रो बजारमा सेयरको कारोवार गर्न सक्नेछ्न् । यो कुरा भनेको जुनसुकै कुनामा बस्ने नेपाली नागरिकका लागि अति खुशीको कुरा हो ।
नेपाली पुँजीबजारको अर्को महत्त्वपूर्ण उपलब्धि भनेको बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा हो । भर्खर प्रस्तुत भएको मौद्रिक नीतिमा सम्बन्धित बाणिज्य बैंकको सहायक कम्पनी स्थापन गरी सेयर कारोवार गर्नसक्ने व्यवस्था मिलाइनेछ भनिएको छ । यसको अर्थ बाणिज्य बैंकले सेयर कारोबार गर्न खुल्ला गरिएको छ । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने बित्तिकै अहिले भएका ५० ओटा ब्रोकर कम्पनीको सिन्डिकेट तोडिनेछ र ब्रोकर कम्पनीबीचमा स्वस्थ् प्रतिस्पर्धा वृद्धि भर्इ लगानीकर्ताहरुले गुणस्तरीय सेवा पाउनेछ्न् । बैंकले ब्रोकर लाइसेन्स पाउँदा साथ नेपालको सेयरबजार ७५३ स्थानीय तहमा पुग्नेछ । त्यस पछि नेपालको सेयर बजार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्मका जनताको पहुँचमा पुग्नेछ । बैंकसँग पर्याप्त स्रोत साधन र पहुँच रहेका हुँदा दुर्गम स्थानसम्म सेयरबजारलाई पुर्याउन सजिलो हुनेछ, जुन काम गर्न ब्रोकर कम्पनीलाई कठिन हुनेछ । यसरी अनलाइन प्रणालीको सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्ससँगै नेपालको सेयर बजारले ठूलो छलाङ मार्न सफल हुने विश्वास गर्न सकिन्छ ।
यी दुई प्रमुख परिवर्तन बाहेक पुँजी बजारको विकासका लागि धितोपत्र बोर्डले आगामी आर्थिक बर्षको आफ्नो नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू ल्याएको छ । यी प्रमुख कुराहरु बाहेक अब नेपालको सेयर बजार सुनौलो युगमा प्रवेश गर्ने अन्य विविध आधारहरु पनि छ्न् । जस्तै: गैरआवासीय नेपालीहरुलाई नेपाली पुँजी बजारमा स्वागत गर्ने ऐन नियम बन्दैछ । सेयर बजारको प्रमुख दुश्मन ब्याजदर घटाउन भर्खर प्रस्तुत मौद्रिक नीतिमा धेरै राम्रा कुराहरु आएका छ्न् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री तथा सचिवहरुलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्न निर्देशन दिइसकेका छन् । सुरुवातदेखि नै हुने बजेट कार्यान्वयन सँगै बैंकहरुमा तरलताको समस्या समाधान भर्इ ब्याजदर घट्न सुरु हुनेछ । ब्याजदर घट्न सुरु हुनु भनेको सेयरबजार बढ्न सुरु हुनु हो । मार्जिन कलको सीमा बढेको छ । सामान्य रुपमा हेर्दा मौद्रिक नीतिले मार्जिन कलको सीमा ५० प्रतिशत नै राखेको बुझिन्छ , तर २० प्रतिशत मूल्य घट्दा समेत बैंकहरुले लगानीकर्तालाई मार्जिन कल गर्न नपाउने व्यवस्थाले मार्जिन कलको सीमा एकहिसाबले ६० प्रतिशत नै पुगेको महसुस भएको छ । मलाई लाग्छ आगामी दिनमा नेप्से अहिलेको अवस्थाबाट २० प्रतिशत घट्ने अवस्था छैन र आउने छैन ।
बजार निर्माताले छुट्टै विन्डो पाएपछि मात्र बजारमा प्रवेश गर्ने भनेकोमा अनलाइन कारोबार प्रणाली आएपछि यो कुरा पनि संभव हुने भयो । अब बजार निर्माताको रूपमा नागरिक लगानीकोषलाई भित्राउने अन्तिम तयारी हुँदैछ । अक्सन ट्रेडिङ र सेटलमेन्ट फन्ड शुरु हुने कुरा आएको छ । भ्याट र प्यानको हौवा सधैंका लागि समाप्त भएको छ । यस्ता विविध सकारात्मक काम नेपाली पुँजीबजारमा छिट्टै नै सुरु हुँदैछ्न् । यस्ता विविध सकारात्मक कुराहरू हुने भएपछि लगानीकर्ताको मनोबल बढ्ने नै छ ।
त्यसकारण अब नेपाली पुँजीबजारले एउटा नयाँ इतिहास रच्ने सम्भावना छ । यो प्राबिधिक काम अनलाइन कारोबार प्रणाली र बैंकलाई ब्रोकर लाइसेन्स वितरणसँगै नेपाली सेयर बजारमा एउटा ब्रेक थ्रु हुनेछ र अबको एक बर्ष भित्र नेप्सेले नयाँ उचाई बनाउने सुनिश्चित छ । तसर्थ, लगानीकर्ताहरुले अरुको लहैलहैमा तथा केही आधारहीन समाचार पस्किने अनलाइनहरुको पछि नलागी आफ्नो विवेक प्रयोग गरी कारोबारमा सहभागी हुनुपर्छ । नेपाली सेयर बजारका अबका दिनहरु अति नै सुनौला छ्न् । एउटा कुरा यत्ति हो, बजारको बिषयमा अर्थमन्त्रीले नकारात्मक टिप्पणी वा अभिव्यक्ति व्यक्त नगरिदिए काफी छ ।
(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन् ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago