काठमाण्डौ । निकट समयमै करिब सवा ५ अर्ब रुपैयाँबराबरका ६ म्युचुअल फण्डका स्किम आउने भएको छ।

विभिन्न ६ मर्चेन्ट बैंकहरुले निकट समयमै ५ अर्ब २० करोड रुपैयाँका ६ वटा म्युचुअल फन्डका स्किम आउन लागेको हो। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई विभिन्न खुलामुखी र बन्दमुखी ६ वटा स्किमहरु प्रतियुनिट रु. १० का दरले निष्कासन हुनेछ।

पाँचवटा बन्दमुखी र १ खुलामुखी म्युचुअल फन्डका स्किम ५२ करोड युनिटबराबरका ५ अर्ब २० करोड रुपैयाँ आउने तयारीमा छ। दुवै किसिमका म्युचुअल फन्डका स्किमहरु प्रतियुनिट रु.१० का दरले खरिद गर्न सकिन्छ। सामान्यतया सेयर बजारमा लगानी गर्न चाहने तर सेयर बजारको अध्ययन र विश्लेषण गर्न असमर्थ लगानीकर्ताले म्युचुअल फन्डका स्किमहरुमा लगानी गर्दछन्।

कुमारी क्यापिटलले कुमारी इक्विटी फन्डका रुपमा ८ लाख युनिट र एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया सेलेक्ट ३० कार रुपमा १ करोड युनिट निष्कासन गर्न लागेको छ। 

यसैगरी सिद्धार्थ क्यापिटलले भने खुलामुखी म्युचुअल फन्ड ल्याउन लागेको छ। क्यापिटलले पहिलोपल्ट निष्कासन गर्न लागेको खुलामुखी म्युचुअल फन्डका रुपमा सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किमका रुपमा २ करोड युनिट निष्कासन गर्ने भएको छ।

यस्तै सनराइज क्यापिटल १० करोड युनिट सनराइज ब्लुचिप फन्ड निष्कासनको तरखरमा छ। ग्लोबल आइएमई क्यापिटलले १२ करोड ग्लोबल आईएमई ब्यालेन्स फन्ड १ निष्कासन गर्दैछ। 

यता सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले पनि १० करोड युनिट सानिमा लार्ज क्याप फन्ड निष्कासन छिट्टै गर्ने भएको छ।