काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आउँदो साउन १ गतेबाट आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन्।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै आफ्नै टीएमएस सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएको हो। धितोपत्र कारोबारमा निहीत जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नुपर्ने दुःख अन्त्य गर्न ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशहरुमा प्रयोग भइरहेको टीएमएस सञ्चालनमा ल्याउने सम्झौता भएको एसोसिएसनले जनाएको छ। ‘अहिले उक्त प्रणाली कस्टमाइजेसनको काम तीव्र गतिमा अगाडि बढाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ साउन १ बाट यो प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने छन्।’
विज्ञप्तिमा मल्टी असेट, मल्टी एक्सचेन्ज ट्रेडिङ प्लेटफर्म रहेको उक्त टीएमएसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणको कारोबार एक वा एकभन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने दाबी गरिएको छ। साथै, मोबाइल एप्लिकेसनसहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न सहजता प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ।
अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने पनि एसोसिएसनले जनाएको छ। लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा–घाटाको अवस्था पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था रहने विज्ञप्तिमा जनाइएको छ।
स्टप लस, टेक प्रफिट, आफ्टर मार्केट अर्डरजस्ता आदेश व्यवस्थापन विशेषताले गर्दा उक्त टीएमएसबाट कारोबार गर्न निकै सहज हुने एसोसिएसनले उल्लेख गरेको छ। ‘गुणस्तरीय सेवा प्रवाहमा हाम्रो सदैव जोड रहने छ। यसमा हामी सम्पूर्ण सरोकारवाला निकाय तथा लागानीकर्ताको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
हालको परिस्थितिमा धितोपत्र दलाल व्यवसायीहले रातारात गरेको क्षमता विस्तार तथा कर्मचारी अहोरात्र खटिएकै कारण करिब ७ लाख सक्रिय लगानीकर्ता र करिब पौने ६ लाख अनलाइन प्रयोगकर्ताले ढुक्कसँग कारोबार गर्न पाइराखेको एसोसिएसनले जनाएको छ। यसमा नेपाल धितोपत्र बोर्ड, नेप्से, अनलाइन कारोबार प्रर्णाली, सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा निक्षेप सदस्यको भूमिका निकै नै सहरानीय रहेको विज्ञप्तिमा जनाइएको छ।
नियामक निकायले तोकेका सम्पूर्ण प्रावधान पूरा गर्न, अन्तर्राष्ट्रिय जगतमा ब्रोकरले अँगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकताअनुसार पूर्वाधार वृद्धि गर्न आफूहरु सदैब तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ। ‘आधिकारिक प्रतिनिधि तथा सब–ब्रोरकका माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार विस्तार गर्न र मार्जिन ट्रेडिङ, लगानी परामर्श, लगानी व्यवस्थापन र इन्ट्रा डे कारोबारजस्ता थप सेवाहरु प्रवाह गरी बजरालाई थप गति प्रदान गर्ने हाम्रो तीव्र इच्छा रहेको छ र हामी यसका लागि सक्षम पनि छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रियस्तरको व्यावसायिक संरचना विकास गरी त्यही स्तरको ब्रोकर सेवा आम लागानीकर्तालाई उपलब्ध गराउन हामी सधैँ लालायित छौँ। यसका लागी नियामक निकाय तथा बजार सञ्चालकको आवश्यक निर्देशन तथा सहयोगको अपेक्षा गर्दछौँ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19