काठमाण्डौ । सीईडीबी हाइड्रोपावरले २२.८९ करोड बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

यो जलविद्युत कम्पनीले १ सय रुपैयाँ दरका कुल २२ लाख ८९ हजार ३ सय कित्ता आइपीओ निश्कासनको माग गरेको हो ।

यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५.२८ करोड र सर्वसाधारणका लागि १७.६१ करोड रुपैयाँ बराबरको सेयरको प्राथमिक निश्कासन गर्न चाहेको हो । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल यो कम्पनलिे ४.४ मेगावाटको राधी जलविद्युत आयोजना, ४ मेगावाटको खुदी जलविद्युत आयोजना र १८३ किलोवाट क्षमताको साङ्गे जलविद्युत आयोजना संचालन गरिरहेको छ । 

साथै, यो कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना, लमजुंगमा १०.३ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना,  रुकुममा ५ मेगावाटको रुकम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अन्य केही ठूला आयोजना निर्माणका लागि अध्ययनका काम पनि भइरहेको कम्पनीले जनाएको छ ।