– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजार स्थिरजस्तै रह्यो। यो साताभरि बजार १७ अंकको हाराहारीमा मात्रै बढेको छ। साताको अन्तिम दिन बिहीबार बजार ३ अंकले बढेको छ।
लगानीकर्तामा आगामी साता बजार कता जाला, कुन सेक्टरले लिड गर्ला तथा अब आउने कम्पनीहरुको तेस्रो त्रैमास रिपोर्टले बजारलाई कस्तो प्रभाव पर्ला भन्ने जस्ता विषयमा कौतुहुलता रहेको छ।
पूर्व बैंकर तथा विश्लेषक अनलराज भट्टराई बजारको अबको यात्राका बारेमा ठ्याक्कै भन्न मुस्किल रहेको बताउँछन्। ‘तर समग्र माहौल हेर्दा बजार बढ्ने नै जस्तो देखिन्छ’, उनले भने।
तेस्रो त्रैमासको रिपोर्टमा गत वर्षभन्दा यो वर्ष बैंक तथा वित्तीय संस्थाको आम्दानी १० प्रतिशतभन्दा बढीले नै वृद्धि हुने भट्टराईको अनुमान छ। ‘कोभिडको प्रभाव बढे पनि पहिलाजस्तो असर पर्दैन’, उनले भने, ‘सेयर बजारको आजसम्मको अवस्थालाई हेर्दा जति करेक्सन हुनुपर्ने हो भई नै सक्यो।’
आगामी साताबाट बैंक तथा वित्तीय संस्था चल्ने सम्भावना रहेको भट्टराई आँकलन गर्छन्। ‘जलविद्युत् क्षेत्र पनि बढ्न सक्छन्’, उनले भने, ‘विस्तारै सबै सेक्टरमा वृद्धि आउँछ।’
सरस्वती क्याम्पसका एमबीएम विभागका निर्देशक केपी पाण्डे अर्थतन्त्रका इन्डिकेटर हेर्दा बजारमा अब ठूलो उत्तारचढाव आउने सम्भावना कमै रहेको बताउँछन्। ‘पहिलाजस्तो लकडाउन हुने अवस्था छैन’, उनले भने, ‘मान्छेहरु सचेत हुन थालेका छन्।’
आयकर बुझाउँदा तरलतामा संकट हुन सक्ने पाण्डेको भनाइ छ। ‘करिब ७० अर्ब सरकारको ढुकुटीमा जानसक्छ’, उनी भन्छन्।
कोरोना प्रभाव बढे पनि बैंकहरुको ऋण लगानी नघट्ने पाण्डेले बताए। ‘तेस्रो त्रैमासमा बैंकको अनुमानभन्दा राम्रो रिपोर्ट आउन सक्छ, त्यसैले लगानीकर्ताहरु तेस्रो त्रैमाससम्म ‘पर्ख र हेर’ को अवस्थामा नै हुन सक्छन्’, उनले भने।
अब जलविद्युत् तथा पर्यटन क्षेत्रमा पनि चलयमान हुन सक्ने पाण्डेको भनाइ छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार बुलिस नै रहेको बताउँछन्। ‘बजारमा २–४ अंक तलमाथि हुनु स्वभाविक हो’, उनले भने।
यो महिना एकैदिन १० अर्ब रुपैयाँसम्मको कारोबार भएको उल्लेख गर्दै रौनियारले ब्याजको प्रभावले यो साता बजारमा केही प्रभाव परेको बताए। ‘मैले बुझेअनुसार बैंक तथा वित्तीय कम्पनीहरुको तेस्रो त्रैमास रिपोर्ट राम्रै आउँछ’, उनले भने, ‘रेमिट्यान्स पनि बढेकै छ।’
सेयर बजारलाई कोभिडको प्रभाव खासै नपर्ने रौनियारको भनाइ छ। ‘अहिले त घरबाटै कारोबार गर्न सकिन्छ नि’, उनले भने।
आउने वर्ष एकैदिन १५–२० अर्ब रुपैयाँको कारोबार हुने रौनियारको दाबी छ। ‘बुलिस बजारमा लगानीकर्ताहरुले एउटा सेक्टरबाट अर्को सेक्टर छानी–छानी लगानी गर्दा उत्तम हुन्छ’, उनले भने।
लघुवित्तहरुले आगामी वर्ष राम्रै प्रतिफल दिनसक्ने रौनियारले बताए। ‘अब ननलाइफ पनि चलयमान हुन सक्छन्’, उनले भने, ‘बैकिङ क्षेत्र अवश्य चल्छ, राम्रा–राम्रा बैंकहरुको सेयर किन्ने अवसर पनि छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19