काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर आगामी सातादेखि दोस्रो बजारमा कारोबार आउने भएको छ।

भर्खरै प्राथमिक सार्वजनिक निष्कासन गरेको माउन्टेन इनर्जीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणका लागि कागजातसहित आज शुक्रबार पुगेको छ। नेप्से र माउन्टेन इनर्जी नेपालबीच आगामी साताको बुधबारअघि नै सूचीकरणसम्बन्धी सम्झौता हुन बताइएको छ। त्यसपछि सो कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ। 

आगामी सातादेखि दोस्रो बजारमा कारोबार हुन लागिरहेको माउन्टेन इनर्जी नेपालको पहिलो कारोबारका निम्ति नेप्सेले प्रतिकित्ता रु.११४.८१ देखि ३४४.४३ सम्म रेन्ज तोक्नेछ। 

यो कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणका लागि भने १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन खोलिएको थियो।