– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारलाई साप्ताहिक रुपमा विश्लेषण गर्नुपर्दा यो आर्थिक वर्षको अन्तिम समय भएकोले कारोबार पहिलेजस्तो उत्साहजनक रहेन। यो साता जम्मा २३ अर्ब रुपैयाँबराबर कारोबार भयो। अघिल्लो साता ३४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। 

नेप्से परिसूचकमा पनि साप्ताहिक रुपमा लगभग १८ अंकले गिरावट आएको छ। यसरी कारोबार र भोलुम दुवैमा गिरावट आउनुमा बजार जानकारहरुले हरेक आर्थिक वर्षको समाप्तितिर यस्तै हुने गरेको बताएका छन्। यो समयमा लगानीकर्ताले कर्जा लिनेभन्दा पनि तिर्ने भएकोले कारोबारमा कमी आएको उनीहरुको तर्क छ।

नयाँ आर्थिक वर्षसँगै फेरि बजारमा रौनक र चमक आउने दाबी बजार जानकारहरुको छ। अहिले लगानीकर्ता राजनीति तथा मौद्रिक नीतिका कारणले पनि ‘पर्ख र हेर’ को अवस्थामा छन्। नयाँ अर्थिक वर्षको सुरुआतसँगै सूचीकृत कम्पनीहरुको अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट आउने र लगानीकर्ताले गरेको लगानीबाट वर्षभरिको प्रतिफलको नतिजा पनि आउने हुनाले अब सेयर बजार प्रतिफललाई आधार बनाएर बढ्न सक्ने सम्भवना पनि छ। 

यसै सिलसिलामा आज हामीले नेपालको जीवन बीमा क्षेत्रमै एक लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाललाई प्राविधिक तथा आधारभूत रुपमा बजारमा विश्लेषण गरेका छौँ। 

आधारभूत पक्ष

नेपालका लाइफ इन्स्योरेन्स कम्पनीहरुमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल पनि एउटा हो। यो कम्पनी नेपालमा ज्वाइन्ट भेन्चर कम्पनीअन्तर्गत नेपालमा सन् २००१ देखि सञ्चालित रहेको छ। यस कम्पनीमा ५५ प्रतिशत सेयर स्वामित्व भारतीय कम्पनी लाइफ इन्स्योरेन्स कम्पनी इन्डियाको रहेको छ भने बाँकी ४५ प्रतिशत नेपाली नगरिकको स्वामित्वमा छ। नेपालीको ४५ प्रतिशत स्वामित्वमध्ये २५ प्रतिशत विशाल ग्रुपको रहेको छ भने २० प्रतिशत  सर्वसाधारणको स्वामित्वमा रहेको छ। 

यस कम्पनीका हाल नेपालमा ७६ वटा शाखा कार्यालय छन्। जसअन्तर्गत ६ वटा उपत्यकामा छन् भने ७० वटा उपत्यकाबाहिर छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ६१ करोड १४ लाख रुपैयाँ रहेको छ। 

कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख रुपैयाँ रहेको छ। नेटवर्थ १३९.७४ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८५८.२४ रुपैयाँ रहेको छ।  प्रतिसेयर आम्दानी ६.९५ रुपैयाँ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ३४० गुणा रहेको छ। 

कम्पनीको ८ वर्षको वार्षिक औसत लाभांशदर ३४ प्रतिशत रहेको छ। कम्पनीका एक अधिकारीका अनुसार यो वर्ष कोभिड र मन्दीका कारण अन्य क्षेत्रजस्तै जीवन बीमा कम्पनी पनि प्रभावमा परेको तथा कोभिडका कारण मृत्यु दाबी बढेको छ। ती अधिकारले कम्पनीले पुनर्बीमा गरेकाले सबै भार कम्पनीलाई नपर्ने पनि बताए। 

कम्पनीले हरेक वर्ष कमाएको नाफाबाट २० प्रतिशत ५ वर्षसम्म प्रोभिजन गर्नुपर्नेछ। तर पनि कम्पनीले विगतमा जस्तै लाभांश भने लगानीकर्तालाई समयमै दिनेछ। ती अधिकारी अन्य जीवन बीमा कम्पनीले भन्दा पछि लाभांश घोषणा गरे पनि पहिला लगानीकर्ताको खातामा सेयर पठाउने गरेको दाबी गर्छन्। कम्पनीको व्यापार तथा बजारलाई हेर्दा अहिलेको पुँजी निकै कम रहेकोले भविष्यमा यो कम्पनीले पुँजी वृद्धिका लागि बोनस तथा हकप्रदको बाटो पनि लिनसक्ने सम्भावना पनि उत्तिकै छ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा  सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।   

इलिअट वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर एक दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छन्।

वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (५) चलेको देखिन्छ भने माइनर डिग्रीअन्र्तगत वेभ ५ पूरा भएर इन्टरमिडियट डिग्रीको (ए) चल्दै गरेको अथवा सकिएर अब वेभ ‘बी’ बन्न सक्ने देखिन्छ। यो कम्पनीको सेयरमूल्य साइडवेज हुँदै गर्दा क्यान्डलहरु ह्याम्मर प्याट्रन बनेकोले जुनसुकै समयमा मूल्य रिभर्सल हुन सक्ने देखिन्छ। यदि त्यस्तो भएमा इन्टरमिडियट डिग्रीको वेभ ‘बी’ बनाउँदा सेयरभाउ पुनः एकपटक २६५० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (तस्बिर माथि) 

फिवोनासी सिद्धान्तका आधार 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.३८ प्रतिशतको टेवा २५०० रुपैयाँमा ०.५ प्रतिशतको टेवा २४७१ रुपैयाँमा, ०.६१ प्रतिशतको टेवा २३३७ रुपैयाँमा र ०.७८ प्रतिशतको टेवा २२२४ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही दिन पहिला एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा (हेर्नुहोस् कालो एरो) हुँदै गएकोले केही समयमा  बुलिस क्रस ओभर हुने अनुमान लगाउन सकिन्छ (हेर्नुहोस् पहेँलो एरो)

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको तर ब्रेकआउट भने नभइसकेकोले अझै केही समय साइडवेज जाने सम्भावना पनि त्यत्तिकै छ तर क्यान्डलहरुले ह्याम्मर प्याट्रन बनाएकोले प्राइस रिभर्सल हुनसक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ (हेर्नुहोस् कालो एरो)

आरएसआईका आधार

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइएको हुन्छ। यो कम्पनीको हालको आरएसआई ३८.६७ मा रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोन नजिक छ र अघिल्लोपटक यो न्यून विन्दु ३५ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ७५ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यो कम्पनीको सेयरभाउमा सुधार आउने देखिन्छ।

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाब निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– २३१०

प्रतिरोध २– २३२५

प्रतिरोध ३– २३६५

पिभट प्वइन्ट : २२८५

घटेमा सर्पोट 

सपोर्ट १– २२७०    

सर्पोट २–२२४५

सर्पोट ३– २२०५

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।