काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन अब केही दिनमात्रै बाँकी रहेको छ। साउनबाट नयाँ आर्थिक वर्ष २०७९–८० लाग्ने छ। 

नयाँ आर्थिक वर्षबाट सरकारले आयकरको सीमा परिवर्तन गरेको छ। अब अविवाहितले वार्षिक ५ लाख रुपैयाँ र विवाहितले ६ लाख रुपैयाँसम्मको आम्दानी गरेमा त्यसको १ प्रतिशत कर तिरे पुग्ने आन्तरिक राजस्व विभागद्वारा जारी सूचनामा उल्लेख छ। 

आर्थिक विधेयकमार्फत त्यसपछि बढी आम्दानी हुनेहरुको हकमा समेत कर निर्धारण गरेको छ। ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको आम्दानी हुनेको हकमा ५ लाख रुपैयाँसम्मको १ प्रतिशत कर र ५ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा १० प्रतिशत कर लाग्नेछ। अर्थात ७ लाख रुपैयाँ आम्दानी हुनेले वार्षिक रुपमा २५ हजार रुपैयाँ आयकर तिर्नुपर्ने हुन्छ। 

यस्तै, सात लाख रुपैयाँभन्दा बढी तर १० लाख रुपैयाँसम्मको करयोग्य आय भएको खण्डमा ७ लाख रुपैयाँसम्मको २५ हजार रुपैयाँ र ७ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा २० प्रतिशत कर लाग्नेछ। यसको अर्थ वार्षिक १० लाख आय गर्नेले सरकारलाई ८५ हजार रुपैयाँ आयकर बुझाउनुपर्नेछ। 

१० लाख रुपैयाँभन्दा बढी तर २० लाख रुपैयाँसम्म करयोग्य आय भएको खण्डमा १० लाख रुपैयाँसम्मको ८५ हजार र १० लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा ३० प्रतिशत कर लाग्नेछ। यसको अर्थ वार्षिक २० लाख आम्दानी गर्नेले आयकरका रुपमा सरकारलाई ३ लाख ८५ हजार रुपैयाँबराबर आयकर बुझाउनुपर्नेछ। 

यस्तै २० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको २० लाख रुपैयाँसम्मको व्यवस्थामा थप २० प्रतिशत अतिरिक्त कर तिर्नुपर्नेछ। 

तर, एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरणबापतको आय, निवृतिभरणकोष र योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा सुरुआती आय स्ल्याबमा लगाइने १ प्रतिशत कर लाग्ने छैन। 

विवाहितको हकमा करयोग्य आयको स्ल्याब पनि सोहीअनुसार परिवर्तन गरिएको छ। ६ लाख रुपैयाँसम्मको रोजगारीको आय भएमा १ प्रतिशत, ६ लाख रुपैयाँभन्दा बढी तर ८ लाख रुपैयाँसम्मको करयोग्य आय भएमा ६ लाख रुपैयाँको ६ हजार र ६ लाखभन्दा बढीको करयोग्य आयमा १० प्रतिशत आयकर लाग्नेछ। 

८ लाख रुपैयाँभन्दा बढी र ११ लाखसम्मको करयोग्य आय भएमा ८ लाख रुपैयाँसम्मको २६ हजार र ८ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्नेछ। 

यसैगरी ११ लाख रुपैयाँभन्दा बढी र २० लाख रुपैयाँसम्म करयोग्य आय भएमा ११ लाख रुपैयाँसम्मको ८६ हजार रुपैयाँ र त्यसभन्दा बढीको ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ। 

२० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भएजति करयोग्य आयको २० लाखसम्म लागेको करको दरमा थप २० प्रतिशित अतिरिक्त कर लाग्ने व्यवस्था गरिएको छ।