– प्रकाश न्यौपाने

काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न सुझाव पठाएको छ। 

केही दिनअघि एसोसिएसनले बजेटका लागि विभिन्न सुझाव अर्थ मन्त्रालयमा पठाएको हो। 

एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाका अनुसार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जामा १२ करोड रुपैयाँ क्याप हटाउन सुझाव दिइएको छ। ‘राष्ट्र बैंकले सेयर बजारलाई प्रभावित गर्ने गरी ४–१२ करोड रुपैयाँको क्याप ल्याएको थियो, पछि राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत ४ करोडको क्याप हटाएर १२ करोडको क्यापलाई यथावत राखेको छ’, उनले भने, ‘यसले सेयर बजार निकै प्रभावित भएको छ। त्यसैले आगामी बजेटमार्फत यसलाई हटाउने व्यवस्था गरिनुपर्छ।’

सरकारले सेयरलाई सम्पत्तिका रुपमा अभैm पनि स्वीकार गर्न नसकेको सापकोटाको भनाइ छ। ‘सेयर धितो राखेर लिइएको कर्जा सेयर बजारबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो, यो सुझाव पनि हामीले दिएका छौँ’, उनले भने। 

त्यस्तै हाल कायम गरिएको कर्जामा १५० प्रतिशतको जोखिम औसत भारलाई घटाएर पुरानै अवस्थामा ल्याउन पनि आफूहरुले सुझाव दिएको सापकोटाले बताए। 

अध्यक्ष सापकोटाले कर्पोरेट ट्याक्स घटाउनुपर्ने सुझाव पनि आफूहरुले दिएको जानकारी दिए। ‘अहिले ३० प्रतिशत कर्पोरेट ट्याक्स बुझाउँदै आएका छौँ, त्यसलाई २५ प्रतिशतमा झार्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने।

पछिल्लो समय पुँजीबजारमा ठूलो संख्यामा लगानीकर्ता थपिएको उल्लेख गर्दै सापकोटाले जोखिम न्यूनीकरणका लागि पुँजीबजार सचेतना कार्यक्रम चलाउन पनि आवश्यक रहेको पनि बताए। ‘त्यसका लागि सरोकारवाला निकाय, नेप्से र सेबोनजस्ता नियमनकारी निकाय मिलेर एउटा छुट्टै संस्था स्थापना गर्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने, ‘त्यस्तो संस्था खडा गर्नका लागि बजेटमार्फत व्यवस्था मिलाउन हामीले सुझाव दिएका छौँ।’

पुँजीबजारमा सर्ट सेलिङ, इन्ट्राडेजस्ता थप फिचर ल्याउन आवश्यक रहेको पनि सापकोटाले बताए। ‘यस्ता फिचर ल्याउन आगामी बजेटमार्फत व्यवस्था गर्न पनि हामीले सुझाव दिएका छौँ’, उनले भने।