काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक गरिनेछ। 

संघीय संसदको संयुक्त सदनमा आज अपराह्न ४ बजे अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट सार्वजनिक गर्नेछन्। संवैधानिक व्यवस्थाअनुसार जेठको १५ गते नै बजेट ल्याउनुपर्छ। 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेको छ। सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो। 

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने पक्कापक्की छ। 

बजेटमा साधारण खर्च कटौती र पुँजीगत खर्च बढाउने नीति लिइनेछ। सार्वजनिक संस्थाहरुको सुधार, मर्जर तथा खारेजीका योजनाहरु समावेश गर्न लागिएको छ। 

सेयर बजारका लगानीकर्ताले पनि यसपालिको बजेटमा केही आशा गरेका छन्। पुँजीगत लाभकर र जोखिम भार घट्ने उनीहरुको विश्वास छ।