– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निरन्तर घटिरहेको सेयर बजार परिसूचक वा कम्पनीको सेयरमूल्य अल्पकालीन तथा छोटो समयका लागि फर्किन्छ भने त्यसलाई ‘डेड क्याट बाउन्स’ भनिन्छ। 

यदि कुनै पनि कम्पनीको मूल्य तथा बजार सूचकमा अल्पकालीन र्‍याली आएपछि कुनै पनि आधारभूत तत्वले काम नगरी पुनः मूल्य तथा सूचकमा गिरावट आउँछ भने त्यसलाई आधारभूत रुपमा डेड क्याट र्‍याली भनेर बुझिन्छ। 

त्यसैगरी प्राविधिक रुपमा पनि डेड क्याट बाउन्सलाई परिभाषा गरेको पाइन्छ। यदि निरन्तर बढेको बजार तथा वस्तुको मूल्यमा गिरावट आउँछ र पुनः अल्पकालीन बढोत्तरी आएर ‘भी’ आकार बनाउँछ भने त्यसलाई पनि डेड क्याट बाउन्स भनेर बुझिन्छ। यसरी डेड क्याट बाउन्स हुनका लागि मुख्य कारण कुनै पनि सेयर अथवा सूचक लामो समय बढेको हुन्छ। यस्तो बढेको अवस्थामा एकथरि लगानीकर्ताले सेयर बेच्न सकेको हुँदैन। जब बजार घट्न थाल्छ उसले पहिलेको सूचक तथा सेयरको मूल्य हेरेर पुछुतो मानेको हुन्छ र अब बढ्दा बेच्ने मनस्थिति बनाएको हुन्छ। 

अर्काथरि लगानीकर्ता जसले किन्नका लागि करेक्सन कुरेर बसेको हुन्छन् तर बजार बियरिस ट्रेन्डमा पुगेको थाहा पाएका हुन्नन्। ऊ केही घटेपछि पुनः बजारमा छिर्छ। 

यी दुईथरि लगानीकर्ताको कारोबारले बजारमा डेड क्याट बाउन्सको अवस्था सिर्जना हुन्छ। 

त्यस्तै कुनै पनि कम्पनीको सेयरमूल्य आन्तरिक तथा बाह्य कारणले घटेर तल्लो विन्दुमा आएको अवस्थामा वा अन्डरभ्यालू भएको अवस्थामा खरिद गर्ने जुक्तिलाई सेयर बजारमा बटम प्वइन्ट फिसिङ भनिन्छ। यस्तो रणनीति खरिदकर्ताको आधारभूत तथा प्राविधिक ज्ञान र अनुभवका आधारमा सेयर बजारमा लागू गरिन्छ। यसलाई ‘बाइङ इन लो एन्ड सेलिङ इन हाइ’ पनि भनिन्छ।

आजको बढोत्तरी के होला ? 

सेयर बजारमा डेड क्याट बाउन्स हुनका लागि बजारमा लामो समय बढेपछि करेक्सन आउनुपर्ने हुन्छ। र, त्यो करेक्सनमा बजार अझै बढ्छ भन्ने सोचाइका साथ बजारमा एकथरि लगानीकर्ता हावी हुँदा डेड क्याट बाउन्स हुने गर्छ। 

यसविपरीत आजको बढाइ लामो समयपछिको गिरावटसँगै  प्राविधिक रुपमा फिवोनासीको लगभग ०.६१ प्रतिशत तथा अघिल्लो बुलको उच्च विन्दु १८८१ लाई सपोर्ट बनाएर फर्किएका कारण पनि आजको बढाइ ‘बटम प्वइन्ट फिसिङ’ हुन सक्ने देखिन्छ।