काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा दोहोरो बढोत्तरी आएको छ। 

आज नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक ४.५५ अंकले उकालो लागेर ४३७.२८ को उचाइमा पुगेको छ। 

आज कारोबार रकम भने घटेर ७ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले आजको बजार बढोत्तरीले हिजोको करेक्सन प्राकृतिक र स्वभाविक रहेको पुष्टि गरेको बताए। यो करेक्सन भनेको कमाउने राम्रो अवसर सावित भएको उनले बताए। ‘अहिले बजारमा नयाँ तथा साना लगानीकर्ताहरु झुम्मिकएका छन्’, अहिलेको बजारप्रति टिप्पणी गर्दै उनले भने, ‘त्यस्ता लगानीकर्ताहरुले अरुले भनेकै भरमा पैसा लगाउनेभन्दा पनि कम्पनीको व्यवस्थापन, वृद्धि र मर्जमा जाने राम्रा कम्पनीहरुको प्रोफाइल अध्ययन गरेरमात्र लगानी गर्नु सुरक्षित हुन्छ।’

लगानीकर्ताहरुले अहिले बजार बढिरहेको बेला सेयर किन्ने र बेच्ने पनि गर्न सक्नुपर्ने रौनियारले सुझाव दिए। ‘अध्ययन गरेर भविष्यमा राम्रै हुन्छ भने त्यस्ता कम्पनीहरुको सेयर होल्ड गरेर राख्दा पनि फाइदै हुन्छ’, उनले भने। 

अहिलेको अवस्थामा इन्ट्राडे करेक्सनले नै बजारलाई थप मजबुत बनाउँदै लगेको रौनियारको ठम्याइ छ। ‘अहिलेको बढ्दो बजारमा लगानीकर्ताहरुको भविष्य सुरक्षित गरिदिन नियामक निकायहरु पनि चनाखो हुनुपर्छ’, उनले भने, ‘हिजोमात्रै नेप्सेले राष्ट्रिय बीमा र विशाल बजार कम्पनीमाथि गरेको कारबाही न्यायोचित छ।’

रौनियारले अहिले लागू गरिएको टी प्लस टु नीतिले ब्रोकरलाई मात्र नभएर लगानीकर्ताहरुले पनि फाइदा लिनुपर्ने बताए। 

सक्रिय लगानीकर्ता दीपक पौडेल अहिलेको अवस्थालाई हेर्दा बजार अझै २५०० को विन्दुसम्म पुग्ने देखिएको आँकलन गर्छन्। बजार अहिले सकारात्मक हुनुमा ब्याजदर कम हुनु, प्रविधिमैत्री हुनु र अन्य क्षेत्रमा भन्दा राम्रो प्रतिफल आउन थाल्नै रहेको उनको बुझाइ छ। अहिले केही सुस्त देखिएको बैंक तथा हाइड्रो भविष्यमा उछाल आउन सक्ने उनले तर्क गरे। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने बाँकी २ समूहमा रातो पोतिएको छ।

यो दिन जीवन बीमा सबैभन्दा बढी ३७९.११ अंकले उकालो लागेको छ। होटेल्स समूह १७५.०६ अंकले बढेको आज बैंकिङ समूहमा २०.०४ अंक, व्यापार समूहमा ४९.४९ अंक, विकास बैंक समूहमा ५३.३२ अंक, जलविद्युत् समूहमा ३३.६ अंक, वित्त समूहमा ३९.५५ अंक, निर्जीवन बीमा समूहमा १२४.६६ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२०.३७ अंक र अन्य समूहमा ५४.०८ अंकको बढोत्तरी भएको छ। 

लघुवित्त समूह २७.८१ अंकले घटेको आज म्युचुअल फन्ड समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०३ कम्पनीका १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता सेयर ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५८ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको २९ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको २७ करोड ३८ लाख रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको २६ करोड ९८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २० करोड ६४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १७ करोड ७५ लाख रुपैयाँ, प्रभु बैंकको १५ करोड ७९ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १५ करोड ३२ लाख रुपैयाँ, सिभिल बैंक १४ करोड ५४ लाख रुपैयाँ र नेपाल टेलिकमको १४ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। 

यो दिन सेन्चुरी कमर्सियल बैंक र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा पोखरा फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सोल्टी होटेल, तारागाउँ रिजेन्स होटेल र बेस्ट फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा ९ प्रतिशत बढीले बढेका छन्। 

आज कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।