काठमाण्डौ । अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई मंगलबार देखि नेपाल प्रवेश गर्न 'अन-अराइभल' भिसा बन्द गरेको छ।
अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई 'अन-अराइभल' भिसा बन्द गरिएको विभागले जनाएको हो। विभागका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात प्रवेशाज्ञा नलिकन आउने स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सिमानाकाबाट अन-अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ।
अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने बताइएको छ।
हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अनर्राष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै अन-अराइभल भिसा दिँदै आएको थियो। पर्यटकका रुपमा नेपाल आउने विश्वका धेरै देशका नागरिकले त्रिभुवन विमानस्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान रहेको छ।
यो सुविधाका कारण नेपाल आउने पर्यटकले सम्बन्धित देशमा नेपालको दूतावास खोज्नुपर्ने र आवेदन दिनुपर्ने झन्झट नहुँदा धेरै पर्यटक नेपालको भ्रमणका लागि आकर्षित हुने गरेको बताइन्छ। तर कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले त्यस्तो व्यवस्था तत्कालका लागि केही देशका नागरिकका निम्ति स्थगन गर्ने निर्णय गरेको हो। जसको कार्यान्वयन मंगलबारदेखि आठवटा देशबाट सुरु भएको विभागले जनाएको छ ।
मंगलबारदेखि यी आठ देशका नागरिकले नेपाल प्रवेश गर्नका लागि स्थल नाका प्रयोग गर्न नपाइने बताइएको छ। अब अन्तर्राष्ट्रिय विमानस्थलबाहेक कुनै पनि स्थलमार्गस्थित अध्यागमन कार्यालयबाट पनि उनीहरू आउन पाउने छैनन्।
कोभिड-१९ नाम दिइएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका १०९ वटा मुलुकमा देखिइसकेको छ। तर सङ्क्रमण देखिएका र केहीको मृत्यु नै भइसकेका अन्य देशका नागरिकमाथि भने अन-अराइभल भिसामा रोक लगाइएको छैन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago