काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था अन्त र अनलाइनबाटै स्वयम् लाभकर घोषणा तथा गणना गर्न मिल्ने सिस्टम आजदेखि लञ्च गर्ने भएको छ । 

योसँगै सेयर बजारमा बहुचर्चित र विवादास्पद बनेको ल्याप्चे युगको औपचारिक अन्त हुनेछ । 

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बिजशालासँग कुरा गर्दै ल्याप्चे युगको अन्त आजै हुने र यसका लागि सबै तयारी पूरा भएको जानकारी दिएका हुन् । 

सिडिएससीले केही समयअघिदेखि नै यो सुविधा सर्वसाधारण लगानीकर्ताका लागि लञ्च गर्न खोजे पनि डेटा माइग्रेसन र सिस्टम निर्माणसँगै देखिएका समस्याहरु पहिचान र समाधानमा समय लाग्दा केही ढिला हुन पुगेको हो । 

सिडिएस एण्ड क्लियरिङ लिमीटेडले साढे ५ लाख बढीले चलाउने सिस्टमलाई निकै मजबुत बनाउनुपर्ने र त्यति धेरै लगानीकर्ताको डेटाको समेत काम गर्नुपर्ने भएकोले समय लम्बिएको प्रष्ट्याएको छ ।

नेपाल धितोपत्र बोर्डले केही साताअघि ब्रोकर कार्यालयमा स्वयम् उपस्थित भई ल्याप्चे लगाउने व्यवस्था अन्तका लागि अटोमेटिक सिस्टमको विकास गर्न सीडीएससीलाई लिखित निर्देशन दिएको थियो।

स्रोतका अनुसार ‘मेरो सेयर’ पोर्टलको लगइन लिएका सेयर कारोबारीहरुले मात्रै पर्चेज सोर्स खुलाई ब्रोकरको सीएनएसमा आफैंबाट घोषित लाभकर पठाउन पाउनेछन् ।

यो व्यवस्थाअन्तर्गत २०७२ पछि डिम्याट भएका सेयरको विवरण अटोमेटिक हुने भए पनि सिस्टममा स्रोत नखुलेको हकमा लगानीकर्ताहरुले कारोबार नम्बर वा रकम घोषणा गर्नुपर्ने हुन्छ ।