काठमाण्डौ । कान्ति बाल अस्पतालमा शुक्रबारदेखि अनलाइनबाटै बहिरंग (ओपीडी) सेवाको टिकट लिनसकिने भएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यो सेवाको शुभारम्भ गरेसँगै अब सर्वसाधारणले घरमै बसेर कान्ति बाल अस्पतालबाट उपलब्ध हुने ओपीडी सेवाको टिकट लिन सक्ने भएका हुन्।

हाललाई यो सेवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गुगल प्लेस्टोरमा गई ‘कान्ति चिल्ड्रेन्स हस्पिटल’ नामक मोबाइल एप डाउनलोड गरी प्राप्त गर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ। यो सेवा आईओएस स्टोर तथा अस्पतालको वेबसाइट www.kantichildrenhospital.gov.np मार्फत पनि छिटै प्रयोग गर्न सकिने व्यवस्था मिलाउन लागिएको अस्पतालले जनाएको छ। 

अस्पतालले हाल ओपीडी टिकट दर ५० रुपैयाँ नै कायम राखी अनलाइन दर्ता शुल्कबापत थप ३० लाग्ने जनाएको छ। यो अनलाइन दर्ता शुल्क भने एक वर्षमा एकपटकमात्र तिरे पुग्छ।

अनलाइन टिकट लिइसकेका सेवाग्राहीले अस्पतालको टिकट काउन्टरनजिक रहेको बिरामी तौल लिने कक्ष (रुम नं. ११) मा आएर पेमेन्ट स्लिप वा मोबाइल स्क्रिनमा देखाएर टिक प्रमाणीकरण गरी सम्बन्धित शाखाबाट बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सेवा लिन सक्ने अस्पतालले जनाएको छ।