काठमाण्डौ । वैदेशिक रोजगार विभागले आज शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ।

विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो। योसँगै पुनः श्रम स्वीकृतिका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। 

विभागबाट एकपटक आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेकाहरुलाई पुरानै विवरणका आधारमा श्रम स्वीकृति दिइने भएकोले अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ। 

​नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेसन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल भइरहेको पनि विभागले जनाएको छ। अबको दुई महिनाभित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइनमार्फत दिन सकिने गरी काम भइरहेको बतायएको छ।