काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम मौका रहेको छ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

हिमालयन बैंककले आफ्नो ३० औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको सोल्टीमोडस्थित होटेल सोल्टीमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाबाट आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन हुनेछ। 

सभाबाट गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत हुनेछ। 

सभाले मर्जर प्रक्रिया निर्धारण गरिएको १ः०.८०२८ स्वाप रेसियो अर्थात सिभिल बैंकको १०० कित्ता सेयरबराबर उक्त कम्पनीका सेयरधनीहरुलाई हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने गरी स्वीकृत गर्नेछन्। 

सिभिल बैंक प्राप्तिपश्चात बैंकको जारी तथा चुक्तपुँजी वृद्धि हुने तथा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व प्रतिशतसमेत परिवर्तन हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न सम्बन्धित दफाहरुमा संशोधन गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले सिभिल बैंक प्राप्तिपश्चात हिमालयन बैंककै नाममा एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछन्। 

प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायतका नियमनकारी निकायबाट स्वीकृति लिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।