काठमाण्डौ । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज माघ १७ गते अन्तिम दिन रहेको छ। 

रिडी पावर, अरुण भ्याली हाइड्रोपावर र तारागाउँ रिजेन्सी होटेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी तीनै कम्पनीले भोलि माघ १८ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

रिडी पावर कम्पनीले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही माघ २९ गते आयोजना गर्दैछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ४२.१० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश छन्। 

वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लााभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२१ नगद लाभांश (कर प्रयोजनार्थ) छन्। 

बोनस सेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले कम्पनीले निर्माण गर्न लागेको बुदुम खोला जलविद्युत आयोजना (१४.५० मे.वा.)का लागि ऋण स्वीकृत गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी स्वीकृत गर्नेछ। 

उता तारागाउँ रिजेन्सी होटेल्सले आउँदो फागुन ३ गते वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले कम्पनीद्वारा प्रस्तावित ८.४२ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबलगायतका दस्तावेजहरु पनि स्वीकृत गर्नेछ।