काठमाण्डौ । महिला लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन ४ गते अन्तिम मौका रहेको छ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ यी दुवै लघुवित्तले भोलि फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

महिला लघुवित्तले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यी फागुन २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्ट भ्युटार मार्गमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति प्रयोजनका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

यसैगरी मिथिला लघुवित्तले आफ्नो चौधौँ वार्षिक साधारणसभा यही फागुन १७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा धनुषाको मिथिला नगरपालिकाको लालगढस्थित न्यु बौवा होटेल तथा गेस्ट हाउसमा हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी १९ करोड ६० लाख २ हजार ७५५ रुपैयाँ पुग्ने भएको सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना (संस्थापक र सर्वसाधारण समूहबाट १–१ जना) सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्दै क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। हाल संस्था संस्थपाकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ।