काठमाण्डौ । डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन १८ गते अन्तिम दिन रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ डिप्रोक्सले भोलि फागुन १९ गते शुक्रबार र सपोर्टले फागुन २१ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज फागुन १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

डिप्रोक्स लघुवित्तले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा चितवनको सौराहस्थित होटेल सेभेन स्टारमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सभाले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवं संयुक्त प्राप्ति समितिलाई आवश्य कार्य गर्न सक्ने अख्तियारी प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ। 

सभाले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ। 

सभाले प्राप्ति प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत अन्य कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आदर्श लघुवित्तलाई प्राप्ति गरेपछि संस्थाको चुक्तापुँजी र जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

आदर्श लघुवित्तलाई प्राप्ति गरेपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक र आर्थिक प्रतिवेदन पनि स्वीकृति गर्नेछ। 

यसैगरी सपोर्ट लघुवित्तले आफ्नो आठौँ वार्षिक साधारणसभा आगामी चैत ४ गते आफ्नो आठौं एजीएम आह्वान गर्ने निर्णय गरेको छ। प्रदेश १ को सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा अवस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ९ः३० बजे साधारणसभा आह्वान गरिएको छ । 

साधारणसभामा हाल कायम चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि आवश्यक ०.५७८९४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ। बोनस सेयर वितरण सम्बन्धी प्रस्ताव पारित भएपछि यो कम्पनीको चुक्तापूँजी बढेर ९ करोड ५२ लाख ३८ हजार पुग्नेछ। यहीकारण साधारणसभामा हाल कायम सेयरपुँजीलाई बढाएर ९ करोड ५२ लाख ३८ हजार नै पुर्याउने प्रस्ताव समेत पेश हुनेछ। 

साधारणसभाले यो कम्पनीलाई अन्य कुनै वित्तीय संस्थासँग मर्ज गराउने विषयमा समेत छलफल हुने र त्यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ। 

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका विषयमा पनि एजीएमका अजेन्डा रहेका छन्।