काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन, सांग्रिला डेभलपमेन्ट बैंक र साना किसान विकास लघुवित्तको आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन रहेको छ। 

वार्षिक साधाणसभा र लाभांश प्रयोजनार्थ साल्ट ट्रेडिङले भोलि फागुन २८ गते तथा सांग्रिला डेभलपमेन्ट बैंक र साना किसान विकास लघुवित्तले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज फागुन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी तीनै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ५६ औँ वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मध्याह्न १२ः१५ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

कम्पनी ऐन, २०६३को दफा १०५(१)को खण्ड (ख)बमोजिम ऋण सुविधा लिन स्वीकृतउपर छलफल गरी सभाले पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो चैत १७ गते आयोजना गर्ने निर्णय गरेको छ। 

सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको कुल ८.९८३ प्रतिशतले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८.११ रुपैयाँ लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ८.५३४ प्रतिशतले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४.७१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४९ प्रतिशतले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३.४० रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ। 

साना किसान विकास लघुवित्तले आफ्नो २१ औँ वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको छ। सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले संस्थाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० रुपैयाँको कुल २७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख ४७ हजार ५६९.१८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने २ करोड १४ लाख ७ हजार ७६६.८० रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। सभाले साना किसान विकास र आरएमडीसी लघुवित्तबीच मर्जर प्रक्रियाका क्रममा भएका डीडीए रिपोर्ट, प्रारम्भिक सम्झौता, अन्तिम सम्झौतालगायत अन्य निर्णय तथा सम्पूर्ण कामरकाबाही पारित गर्नेछ। 

सभाले साना किसान विकास र आरएमडीसी लघुवित्तबीच मर्जका लागि तय गरिएको १ः०.८७ सेयर स्वाप रेसियो स्वीकृत गर्नेछ। 

मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधनलगायतका बाँकी सम्पूर्ण कार्य गर्ने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ को कार्यकाल थप गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ। सञ्चालक समितिको म्याद थप गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।