काठमाण्डौ । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन २९ गते अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवैले भोलि फागुन ३० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यी दुवैको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आउँदो चैत १४ गते डाकेको छ। सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश रहेका छन्। 

बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सर्वसाधारण समूहका तर्फबाट तीनजना सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

यसैगरी स्वरोजगार लघुवित्तले आफ्नो १४ औँ वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २३।१५७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।१५७९ प्रतिशत नगद लाभांश छन्। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गर्नेछ।