काठमाण्डौ । नेप्सेमा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम मौका रहेको छ। 

नेपाल इन्स्योरेन्स, ग्रीन डेमलपमेन्ट बैंक र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी ३ वटै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (चैत १७ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज (चैत १६ गते) सम्म कायम सेयरधनीहरुमात्र यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

नेपाल इन्स्योरेन्सले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश रहेका छन्। यो लाभांश कम्पनीको यही चैत २७ गते ७२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। 

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकले कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश ३.८ प्रतिशत बोनस र ०.२ प्रतिशत नगद रहेका छन्। प्रस्तावित लाभांश बैंकको यही चैत २८ गते हुने आठौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

उता मिथिला लघुवित्तले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश संस्थाको यही चैत २९ गते हुने १२ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ।