काठमाण्डौ । दुई वाणिज्य बैंकसहित तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ।

सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सानिमा बैंकले कात्तिक ७ गते, माछापुच्छ्रे बैंकले पनि कात्तिक ७ गते र सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज कात्तिक ४ गते (कात्तिक ५ गते शुक्रबार र कात्तिक ६ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्र यी बैंकहरुको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सानिमा बैंकले कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। यो लाभांश बैंकको आगामी कात्तिक १४ गते हुने २८ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

यसैगरी माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेयर र बाँकी ०.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। प्रस्तावित लाभांश बैंकको आगामी २६ गते हुने २३ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको यो लाभांश आगामी कात्तिक १६ गते हुने १७ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।