काठमाण्डौ । एक वाणिज्य बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक ७ गते अन्तिम मौका रहेको छ।

कुमारी बैंक, गुराँस लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी तीनै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि कात्तिक ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश बैंकको यही कात्तिक १६ गते हुने २१ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी गुराँस लघुवित्तले १७.७९६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १६.९०६ प्रतिशत बोनस सेयर र ०.८८९८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश संस्थाको यही कात्तिक २२ गते हुने छैटौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।

त्यस्तै शिवम् सिमेन्ट्सको छैटौँ वार्षिक साधारणसभा कात्तिक १६ गते हुनेछ। सोही सभाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको २९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।