काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते अन्तिम मौका रहेको छ। 

जानकी फाइनान्स र ज्योति लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

जानकी फाइनान्सले फागुन ७ गते आफ्नो २५ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा जनकपुरधामको शिवचौकस्थित होटेल मानकी इन्टरनेसनलमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७८९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर जारीपछि चुक्तापुँजी र जारी पुँजी सोहीअनुसार संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

यसैगरी ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा आउँदो फागुन ६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस सेयर जारीपछि चुक्तापुँजी २ अर्ब ४२ करोड पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण सेयरधनी समूहबाट २ जनाको चयन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावहरुले छलफल गरी पारित गर्नेछ।