काठमाण्डौ। नेपाल ग्यास उद्योगले आज बुधबार चाबहिल र बाफल चोकमा ग्यास वितरण गर्दैछ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उद्योगले बालाजु औद्योगिक क्षेत्रबाहेक बुधबार, बिहीबार र शुक्रबार  तीन दिन दुई÷दुई स्थानमा गरी ६ स्थानमा ग्यास वितरण गर्ने निर्णय गरेको हो। सोहीअनुसार उद्योगले आज बिहान १० बजेदेखि चाबहिल र बाफल चोकमा ग्यास सुरु गर्दैछ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताएका। उनका अनुसार काठमाण्डौ उपत्यकाका  ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ। ‘कोरोभाइरसको सन्त्रासका कारण उत्पन्न परिस्थितिमा अतिआवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने, ‘तीन दिनमा दुईदुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’

उद्योगले बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगन्ज चोकबाट ग्यास वितरण गर्नेछ। ग्यास वितरण सहज बनाउन उद्योगलाई सुरक्षाकर्मी सहयोग गर्नेछ।