काठमाण्डौ। नेपालमा बितेको २४ घन्टाको अवधिमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घन्टामा ८ जना महिला र ३३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ। तीमध्ये ७०७ जना महिला र ७ हजार ५६७ जना पुरुष छन्। 

यो अवधिमा कोरोना संक्रमण ठिक भएर फर्किनेको संख्या २१६ रहेको छ। जसमा ९ महिला र बाँकी पुरुष छन्। योसँग ठिक हुनेको संख्या १ हजार ४०२ पुगेको छ। 

पछिल्लो २४ घन्टामा ४ हजार २३१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको गौतमले जानकारी दिए। योसँगै पीसीआर परीक्षण विधिबाट कोरोना संक्रमण जाँच गर्नेको संख्या १ लाख ६१ हजार ७४९ पुगेको छ। 
त्यस्तै आरडीटी विधिबाट बितेको २४ घन्टामा ४ हजार ३९९ जनाको कोरोना परीक्षण गरिएको छ। योसँगै आरडीटी जाँच गर्नेको संख्या २ लाख ४७ हजार ८७४ पुगेको छ। 

देशभरका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १ लाख ९ हजार ४६१ जना रहेको गौतमले जानकारी दिए। उनका अनुसार ६ हजार ८५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन्।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ।