काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा झिनो करेक्सन आएको छ। आज कारोबार रकम पनि अढाइ अर्ब रुपैयाँ हाराहारी भएको छ। 

आज नेप्से परिसूचक ३.३३ अंकको गिरावटका साथ १६३७.६३ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकको गिरावटका साथ ३२५.४६ को विन्दुमा झरेको छ।

स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश प्रस्तावबाट एकाएक भड्किएका लगानीकर्ताको बैंकका सेयरहरुमा कम आकर्षण देखिएको छ। अधिकांश बैंकका सेयरमूल्यमा ३० रुपैयाँदेखि १०० रुपैयाँ हाराहारी प्रफिट बुक गर्न थालेपछि बैंकबाट लगानीकर्ता हिजोआज लघुवित्त समूहका सेयरमा झुकाव बढाउन थालेका छन्। यद्यपि बैंकका सेयरहरु तुलनात्मक रुपमा सस्तो भएकाले समेत उच्च खरिदचाप देखिन्छ।

हाल लघुवित्त कम्पनीका सेयरमूल्य प्रायः बैंक तथा हाइड्रोका सेयरमूल्यभन्दा अलिक माथि नै भएकाले सीमित लगानीकर्ताले मात्र लघुवित्त कम्पनीका सेयर खरिद गर्दा कारोबार रकममा समेत संकुृचन आएको ब्रोकरहरुको भनाइ छ। राम्रा हाइड्रोपावरको मूल्य भने यथावत नै रहेको र लगानीकर्ताको राम्रा हाइड्रोपावर कम्पनीमा आकर्षण रहेको ब्रोकरहरुको दाबीसमेत छ। 

सूचीकृत कम्पनीका विविध सेक्टरमा प्रफिट बुक गर्र्दै लगानीकर्ता खरिदबिक्री गर्ने चलन रहेको ब्रोकरहरु बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने बाँकी ४ वटामा रातो पोतिएको छ।

यो दिन लघुवित्त समूहमा सर्वाधिक ६२.३ अंकको उछाल आएको छ। व्यापार समूह ३४.५२ अंकले उकालो लागेको आज होटेल्स् समूहमा ९.३३ अंक, जलविद्युत् समूहमा ०.५४ अंक, वित्त समूहमा ३.९६ अंक, निर्जीवन बीमा समूहमा २७.२५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३.८८ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ।

आज बैंकिङ समूह सबैभन्दा धेरै ११.६२ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ९.४ अंकले घटेको यो दिन विकास बैंक समूहमा ०.३ अंक र अन्य समूहमा ३.२९ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९७ कम्पनीका ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँमा कारोबार भएको छ।

यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक १२ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ८ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ८ करोड रुपैयाँ, प्रभु बैंकको ७ करोड ५९ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ६ करोड ८४ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्सको ६ करोड ७८ लाख रुपैयाँ, डेप्रोक्स लघुवित्तको ६ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ७६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड १ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। विशाल बजार कम्पनी, सारथी नेपाल लघुवित्त, गुराँस लघुवित्त र शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।