काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकको गिरावटसँगै बजार बन्द भएको छ। परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सवा २ अर्ब रुपैयाँ हाराहारीमा खुम्चिएको छ।

हिजो आइतबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको थियो। परिसूचकमा आएको गिरावटले आज पनि निरन्तरता पाएको हो। आज नेप्से परिसूचक १२.१७ अंकको गिरावटका साथ १४८७.८१ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५५ अंकको गिरावटका साथ २९८.६४ को विन्दुमा खुम्चिएको छ। 

केही साताअघि नेप्से परिसूचक १३८० मा निकै संघर्षपूर्ण रह्यो। त्यसपछि उकालो यात्रा तय गरेको नेप्सेले १४७० मा समेत निकै कठिनाइपूर्ण संघर्ष तय गर्दै परिसूचकले १५०० विन्दु पार गरेपछि भने हिजोबाट बजारमा करेक्सन सुरु भएको छ।

एकाएक नेप्से परिसूचकमा १०० देखि १५० अंकको फड्कोमा स्मार्ट लगानीकर्ताले प्रफिट बुक गर्ने मनस्थिति बनाएकाले समेत आगामी केही दिन करेक्सन जारी रहने विश्लेषकहरु दाबी गर्छन्। अल्पकालमा नेप्से परिसूचकमा करेक्सन हुँदै १४४० को विन्दु आसपाससम्म आइपुग्ने प्राविधिक विश्लेषकहरु जिकिर गर्छन्।

आज दिनभर परिसूचक उकालोमा लम्किने प्रयासका बाबजुद सेयरको बिक्री चाप बढेका कारण अन्तिम समयमा ओरालो यात्रा तय गर्र्दै दोहोरो अंकले परिसूचक घटेको हो। बजारले ओरालो यात्रा तय गर्र्दैगर्दा कारोबार संख्यासमेत ह्वात्तै घटेर २८ हजार पटक सेयर कारोबारमा खुम्चिएको छ।

कोरोना संक्रमितको संख्या उल्लेख्य बढिरहेकाले निषेधाज्ञा र लकडाउन लम्बिने त्रासले समेत लगानीकर्ताको आत्मविश्वासमा केही दरार आएको छ। लकडाउन लम्बिएको खण्डमा आर्थिक चलायमान नहुने र पैसाको स्रोतको अभाव हुनसक्ने विश्लेषणका साथ लगानीकर्ताहरुको हाल मनोबल खस्किरहेकाले बजारमा उत्साह क्रमशः सेलाइरहेको विश्लेषकहरुको भनाइ छ।

केही सातादेखि बजार निरन्तर बढिरहेको तर बीचमा करेक्सन आउनु स्वभाविक रहेको स्टक ब्रोकरहरु बताउँछन्। करेक्सनले बजार थप मजबुत हुनसक्ने उनीहरुको ठम्याइ छ। 

त्यसो त आज लगानीकर्ताहरु नागरिक लगानी कोष (सीआईटी) मा झुम्मिएको देखिए। सीआईटीले निकट भविष्यमै ८२.८४ प्रतिशत हकप्रद जारी गर्न राष्ट्रिय वाणिज्य बैंकलाई नियुक्त गरेको छ। यो हकप्रदका लागि बुक क्लोज मिति तय गर्ने समय नजिकिएसँगै लगानीकर्ताहरु सीआईटीमा झुम्मिएका हुन्। 

आज नेप्सेमा उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। व्यापार समूहमा २२.९६ अंकको उछाल आएको यो दिन वित्त समूहमा ०.३ अंक, अन्य समूहमा ३.९७ अंक र लघुवित्त समूहमा १.१५ अंकको बढोत्तरी भएको छ। 

बीमा समूहमा ९२.५४ अंकको पहिरो गएको यो दिन बैंकिङ समूहमा १७.३६ अंक, होटेल्स् समूहमा २.५६ अंक, विकास बैंक समूहमा १५.८५ अंक, जलविद्युत् समूहमा ३.५३ अंक, निर्जीवन बीमा समूहमा ४६.७६ अंक, उत्पादन तथा प्रशोधन समूहमा १७.६८ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका ५५ लाख ९५ हजार ५५१ कित्ता सेयर २ अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ रुपैयाँमा कारोबार भएको छ। 

आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो। यो कम्पनीको मात्र २८ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भयो। 

नागरिक लगानी कोषले १५ करोड ६३ लाख रुपैयाँको कारोबार गरेको यो दिन नेको इन्सुरेन्सको ९ करोड ३ लाख रुपैयाँ, एनएमबी संस्थापक सेयरको ८ करोड ८२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २४ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ५४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ८४ लाख रुपैयाँ, आरएमडीसी लघुवित्तको ६ करोड ३२ लाख रुपैयाँ, नेपाल बैंकको ६ करोड ६ लाख रुपैयाँ र अरुण काबेली पावरको ४ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र धेरै गुमाउने

आज उन्नति सहकार्य लघुवित्त र युनिभर्सल पावर कम्पनीका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो। 

यसैगरी जोशी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

आज एनआरएन इन्फ्रास्टक्चरको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो।