काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज दिउँसो बाँडफाँड गरिने भएको छ। 

पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा राखिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुने क्यापिटलले जनाएको छ। 

कम्पनीले गत कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको थियो। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको थियो। 

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १२ लाख ३४ हजार बढी आवेदकबाट १ करोड ४६ लाख २७ हजार बढी कित्ता सेयर माग भएको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछन्। जसअनुसार भाग्यमानी ५ लाख १५ हजार ७८८ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने ७ लाख बढी आवेदकको हात खाली हुनेछ।