काठमाण्डौ । सेयर बजारमा सोमबार भारी अंकको गिरावट आएको छ।
बजार आज ९९.८६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२०.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६.०३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर पौने ९ अर्ब रुपैयाँ बढीको भएको छ।
आज बजारमा भारी गिरावट आउनुको मुख्य कारण रुपमा राष्ट्र बैंकको अस्वीकृतिसँगै एनआईसी एसिया बैंकको लाभांशसम्बन्धी निर्णय रद्द हुनु नै रहेको जानकारहरु बताउँछन्। ‘नेपालको सेयर बजार मुख्यगरी बैंकिङ इन्डेक्समा निर्भर रहेको छ’, एक बजार जानकारले भने, ‘ठूलो बजार पुँजीकरण रहेको एनआईसी एसिया बैंकको सेयर लाभांश रद्दको निर्णयकै कारण लगानीकर्ताहरुले धमाधम बचेपछि यसले समग्र इन्डेक्स प्रभावित बनेको हो।’
अर्कोतर्फ आयल निगमले सरकारसँग मागेर १३ अर्ब रुपैयाँ आईओसीलाई पठाउनु, सरकारले आन्तरिक ऋण उठाउने तयारी गर्नु, पुस मसान्तमा ठूलो धनराशि करस्वरुप तिर्नु र उक्त रकम बैंकिङ च्यानलमा नआइसक्नु, चुनावको मिति पनि सर्ने सम्भावना बढ्नु आदिका कारणले बजार प्रभावित भएको जानकारहरु बताउँछन्।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भने आजको घटाइ नितान्त नाफाबुक नै भएको बताउँछन्। ‘बजार २२६० को विन्दुमा छोटो समयमै लगभग ३००० को विन्दुसम्म पुगेको थियो, छोटो समयमै बजार धेरै बढ्दा अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गरे’, उनले भने, ‘दीर्घकालीन सोच राखेर लगानी गर्नेहरुका लागि भने यो अवसर नै हो।’
आज बजारमा करेक्सन नभएको दाबी गर्दै ढकालले बजार घट्नुपर्ने कारण नै नरहेको बताए। ‘चुनाव ६ महिनापछि गरे पनि केही फरक पर्दैन’, उनले भने, ‘चुनाव सर्ने हल्लाले नै आज बजार घट्यो भन्नु उचित हुँदैन।’
कोभिडको प्रभावले अन्य क्षेत्र विस्तार सुस्त हुँदै गएको र ती क्षेत्रका लगानीकर्ताहरु पनि पुँजी बजारमा भित्रिने सम्भावना बढेकोले बजार १–२ दिनभित्रै फर्किन सक्ने ढकालले बताए। ‘आज बजारमा करेक्सन आए पनि कारोबार बढ्नुले बजार मजबुत नै रहेको देखिन्छ’, उनले भने।
स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की भन्छन्, ‘छोटो समयमै धेरै बढेको बजार करेक्सन खोजेको थियो, जुन आज देखिएको छ।’
बजार जसरी घट्छ, त्यसरी नै बढ्ने कार्कीको भनाइ छ। ‘अहिले नै तरलता अभाव र ब्याजदर बढ्ने सम्भावना छैन’, उनले भने, ‘त्यसैले आजको घटाइ सामान्य करेक्सन नै हो।’
कार्कीले भोलि नै बजार फर्किने सम्भावना रहेको पनि बताए।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ४.५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ४.४५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.८८ प्रतिशत, वित्त समूहमा ४.३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.३४ प्रतिशत, लगानी समूहमा ३.४१ प्रतिशत, जीवन बीमा समूहमा ३.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.२३ प्रतिशत, लघुवित्त समूहमा ३.२८ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७८ प्रतिशत, अन्य समूहमा ३.७६ प्रतिशत र व्यापार समूहमा ३.६८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँमा किनबेच भएका छन्।
आज अपी पावरको सर्वाधिक ३८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ३६ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अरुण भ्याली हाइड्रोको ३० करोड ४९ लाख रुपैयाँ, अप्पर तामाकोशीको २० करोड २६ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ४२ लाख रुपैयाँ, एचआईडीसीएलको १८ करोड ७७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड ५३ लाख रुपैयाँ, अरुण काबेली पावरको १८ करोड १९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ५ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १६ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।
यो दिन कर्णाली डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago