काठमाण्डौ । आज पनि देशका विभिन्न प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। यसका साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभावले देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। 

अहिले बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाकाअनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी वर्षा हुने क्षेत्रबाट बहने नदीमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महशाशाखाले आग्रह गरेको छ।